काठमाडौं। नेपाली कांग्रेसभित्र सरकारले अध्यादेशमार्फत ऐन संशोधन गरेको विषय पेचिलो बन्दै गएको छ। सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले छलफल नै नगरी अध्यादेश ल्याइएको भनी आक्रोश व्यक्त गरेका थिए।
कांग्रेस नेता एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाका अनुसार आज २० जना सांसदहरुले आफ्नो धारणा राखेका थिए । सो क्रममा उनीहरुले अध्यादेश ल्याउन कुनै छलफल नगरिएको र अध्यादेश आएपछिमात्रै थाहा भएको भन्दै आक्रोश व्यक्त गरेका थिए। आफूहरुलाई थाहा, जानकारी नै नदिइ ल्याइएको अध्यादे मान्य नहुने पनि उनीहरुको चेतावनी थियो।
‘अध्यादेशको बारेमा केही साथीहरुले अहिले पनि हाम्रो सहमति छैन । किन यो अध्यादेश आउनु अगाडि सांसदहरुसँग छलफल गरिएन रु सांसदहरु पनि सार्वभौमसत्ता सम्पन्न हुन्, निर्वाचित भएर आएका हुन् । एकैचोटी आएपछि थाहा हुन्छ, यो कुरा ठीक भएन भनेर सांसदहरुले राख्नुभयो,’सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता खतिवडाले भने ।
आजको बैठकमा कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन नभ्याएको पनि सांसद खतिवडाले बताए । सांसद खतिवडाका अनुसार आगामी माघ १८ गते विहान पुनः संसदीय दलको बैठक बस्ने छ । सोही दिन संघीय संसद्को हिउँदे अधिवेशन आह्वान गरिएको छ ।
बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले सांसदहरुसँग समन्वय गरेर काम गर्न पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई निर्देशन दिए । ‘सभापतिज्यूले अन्तिममा मन्त्रीज्यूहरुको काम अलिकति अप्ठ्यारो त होला । तरपनि सांसदहरुसँग समन्वय गरेर काम गर्न निर्देशन दिनुभयो,’– खतिवडाले भने ।
साथै, सात बुँदे सहमतिअनुसार सरकार पूरै अवधिसम्म जाने कुरामा कांग्रेसभित्र विवाद नरहेको उनले बताए । तर, गल्ती भएको कुरामा पनि गल्तीबारे खुलेर कुरा राख्न सभापति देउवाले निर्देशन दिएको खतिवडाको भनाइ छ ।