काठमाडौं। पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा रूपन्देही जिल्ला अदालतमा १ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन्।
जिल्ला अदालत रूपन्देहीका तहसिलदार कुमार खतिवडाले लामिछानेले १ करोड रुपैयाँ बैंक धरौटी बुझाएको जानकारी दिएका छन्। उनले भने, 'प्रतिवादी रवि लामिछानेले १ करोड रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर छुटेका छन्।'
आइतवार भएको प्रतिवादी वकिलको बहस, जाहेरवाला र सरकारी वकिलको जवाफी बहसपछि जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीले १ करोड रुपैयाँ धरौटी बुझाउनुपर्ने आदेश गरेका थिए।
बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराध कसुरमा प्रतिवादी बनाएर माघ ६ गते रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।
जिल्ला सरकारी वकिल कार्यालयले माघ ६ गते रूपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी र संगठित अपराधमा लामिछानेसहित २२ जनालाई अभियुक्त बनाएर मुद्दा दर्ता गरेको थियो।
मुद्दामा गीतेन्द्रबाबु (जीबी) राई, लामिछानेसहित २८ जनाबाट ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ र लामिछाने, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलबाट १० करोड ९९ लाख थप बिगो र लामिछानेको व्यक्तिगततर्फ २ करोड बिगो दाबी गरिएको थियो।