अध्यादेश बनाउन भूमिका खेलेका विज्ञले कांग्रेस सांसदलाई दिए प्रशिक्षण

अध्यादेश बनाउन भूमिका खेलेका विज्ञले कांग्रेस सांसदलाई दिए प्रशिक्षण

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलले सरकारले अध्यादेशमार्फत भर्खरै संशोधन गरेको कानुनका विषयमा कानुन व्यवसायीहरुसँग परामर्श गरेको छ। आइतबार बसेको संसदीय दलको बैठकमा तीन अधिवक्ताहरुलाई अध्यादेशमा रहेको अन्तरवस्तुको विषयमा परामर्शका लागि बोलाइएको थियो।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार सेमन्त दाहाल, प्रताप पौडेल र अर्का एक जना वरिष्ठ अधिवक्तालाई आजको बैठकमा बोलाइएको थियो।

‘सेमन्त दाहाल, प्रताप पौडेल र अर्को एक जना वरिष्ठ अधिक्ता हुनुहुन्छ। उहाँहरुले अहिले आएको विधेयकहरुको अन्तरवस्तुको विषयमा उहाँहरुले प्रकाश पार्नु भएको छ । खासगरी अध्यादेश ल्याउनुपर्ने आवस्यकता किन पर्यो ? अध्यादेशका कन्टेन्टहरु के–के छन् ? र त्यो कन्टेन्टका विषयमा कुनै समस्या छन् भने ती समस्याको विषयमा पनि आज खुलेर छलफल भएको छ,’ संसदीय दलका प्रमुख सचेतक घिमिरेले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही हप्ता अगाडि ४२ वटा कानुन संशोधन गनेगरी ६ वटा अध्यादेश ल्याएको थियो । अध्यादेशको विषयलाई लिएर कांग्रेसका नेताहरुले आलोचना गरिरहेका छन् । कांग्रेस संस्थापन पक्षकै नेताहरुसमेत अध्यादेशको विपक्षमा उभिएका छन्। तर, पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा र सरकारमा सहभागी मन्त्रीहरु भने अध्यादेशको बारेमा चुपचाप छ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश धेरै विवादमा परेको छ । अध्यादेशबाट कानुन संशोधन गरेर प्रधानमन्त्री ओलीले आफ्नो दलका कार्यकर्ताहरुलाई बाड्न खोजेको आशंका प्रतिपक्षी दलहरुले गरिरहेका छन्।