गोरुजस्तो जोतिएर देशको सेवा गर्ने विप्लवको चाहना

गोरुजस्तो जोतिएर देशको सेवा गर्ने विप्लवको चाहना

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले गोरूजस्तै जोतिएर देश र जनताको सेवा गर्ने चाहना रहेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित जनपत्रकार संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसका लागि २०८४ मा जनताले नेकपाको पक्षमा मत जाहेर गर्न आवस्यक रहेको बताए। जनताले मत दिएको खण्डमा आफूहरुलाई काम गर्न सिंहदरबार नै नचाहिने उनले बताए।

‘०८४ अग्रगमनको पक्षमा व्यक्त हुन्छ, समाजवादको पक्षमा व्यक्त हुन्छ, स्वाधीनताको पक्षमा व्यक्त हुन्छ। नेपाली जनताले अहिलेसम्म प्राप्त नगरेको स्वतन्त्रता र मुक्तिको चाहना छ । त्यो प्राप्त गर्नेतिर मत व्यक्त हुन्छ भन्ने हामीलाई पूर्ण विश्वास छ । त्यसो भयो भने हामीलाई सिंहदरबार पनि चाहिँदैन, एकचोटी बालुवाटारको करोडौं करोडको खाटमा सुतेर होईन, जनताको झुपडीमा बसेर गोरूजस्तो जोतिएर देशको सेवा गर्ने चाहना नेकपासँग छ,’  उनले भने।

विप्लव नेतृत्वको नेकपाले आगामी संसदीय निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ । यद्यपि नेकपा संसदीय व्यवस्थाविरोधी दल हो । नेकपा सबैको मित्र बनेर काम गर्ने उनले बताए । नेकपाले देश बेचुवा दलाल र जनता लुटेर खाने माफियाबाहेक अरु सबैसँग सहकार्य गर्ने महासचिव विप्लवले बताए । ‘नेकपा सबैको मित्र, देश बेचेर खाने दलाल, लिच्चडहरु बाहेक, जनताको सम्पत्ति उडाउने माफियाहरुबाहेक सबैसँग सहकार्य गरेर यो देशलाई अगाडि बढाउने हाम्रो चाहना छ,’  उनले भने ।

साथै, नेपाल गरिब भयो, सकियो भन्नेतिरबाट मात्रै नभएर नेपाल नयाँ चरणमा प्रवेश गर्दैछ भन्ने सन्देश दिनेगरी आफूहरुले काम गर्ने उनले बताए । महासचिव विप्लवले नेपालले काँचुली फेर्न समय आउन बाँकी रहेको र आफूहरु त्यो समयको प्रतिपक्षामा काम गरिरहेको बताए ।