सरकारमा पार्टीको उपस्थिति सशक्त बनाउनु पर्ने कांग्रेसको निश्कर्ष

सरकारमा पार्टीको उपस्थिति सशक्त बनाउनु पर्ने कांग्रेसको निश्कर्ष

काठमाडौं। नेपाली कांग्रेसले सरकारमा पार्टीको उपस्थितिलाई अझ सशक्त बनाउनुपर्ने  निश्कर्ष निकालेकाे छ। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा दलको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु सहित शीर्ष पदाधिकारीको बैठकले यस्तो निश्कर्ष निकालेको हो।

आजको बैठकमा शीर्ष नेताहरुले सरकारमा पार्टीको उपस्थिति अझ प्रभावकारी र सशक्त हुनुपर्‍यो भन्ने सुझाव दिएको प्रवक्ता प्रकाशशरण महतले बैठकपछि जानकारी दिए।

‘मन्त्रीज्यूहरु स्वभाविक रुपमा आफ्नो योग्यता, क्षेमता र क्रियाशिलतामा  लागिराख्नु नै भएको छ।  त्यसमा पदाधिकारीहरुले सल्लाह सुझाव दिनुभएको छ। प्रधानमन्त्रीलाई पनि कतिपय सुझावहरु आइरहेका छन्। पार्टीको सरकारमा सशक्त उपस्थिति हुनुपर्‍यो। सरकारी संयन्त्रहरुमा पनि पार्टीगत विषयलाई बढी ध्यानदिनु भन्दा पनि व्यवसायीकतामा ध्यान दिनुपर्छ । यी विषयहरु छलफलमा आएका छन्”  नेता महतले भन्नु भयो ‘समग्रमा मन्त्रीहरुले राम्रो काम गर्नुभएको छ। आवश्यकता धेरै भएकाले सन्तुष्ट भएको दिनमा त केही गर्न परेन नि ! जहिले पनि सुधारको ठाउँ रहिरहन्छ । अझै उत्कृष्ट रुपमा प्रस्तुत गर्ने ठाउँ त सधैं रहन्छन्।’

भोलि र पर्सी पनि पार्टीको छलफल जारी रहने प्रवक्ता महतले जानकारी दिए। थप दुई दिनको छलफल पछि  प्रधानमन्त्रीलाई पनि पार्टीको तर्फबाट आवश्यक सुझाब दिइने नेता महतको भनाइ छ।