काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली रुघाखोकीले ग्रस्त भएपछि काठमाडौं उपत्यका बाहिरका पूर्वनिर्धारित कार्यक्रमलाई भर्चुअल सम्बोधन गरेका छन्।
चिसोका कारण रुघाखोकीले प्रधानमन्त्री ओलीलाई ग्रस्त बनाएको र चिकित्सकले आराम गर्न सुझाव दिएपछि पूर्वनिर्धारित कार्यक्रममा भौतिक उपस्थिति रद्द गरिएको प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिए। उनका अनुसार बालुवाटारबाटै ओलीले भर्चुअलरुपमा कार्यक्रमलाई सम्बोधन गरेका छन्।
शुक्रबार प्रधानमन्त्री ओलीका चार वटा कार्यक्रम तय भएका थिए। प्रधानमन्त्री ओलीले बिहान ११ बजे पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन, दिउँसो १२ बजेपछि तिनाउ गाउँपालिकाको भवन उद्घाटन, सिद्धबाबामा निर्मित सुरुङ मार्गको ब्रेक थ्रु र बुटवल–गोरुसिंगे सडक स्तरोन्नतिको शिलान्यास गर्ने कार्यक्रम तय भएको हो।
प्रेस संयोजक सिलवालले भने,‘प्रधानमन्त्रीज्यूले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको आज भर्चुअलरुपमा उद्घाटन गर्नुभएको छ। सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु कार्यक्रमको केही समयपश्चात उद्घाटन हुनेछ।’ भर्चुअलरुपमा उद्घाटनका लागि तयारी पूरा भइसकेको उनको भनाई छ। गत मंगलबार बेलुकाबाट प्रधानमन्त्री ओलीको घाँटीमा हल्का समस्या देखिएको छ। त्यसपश्चात ओलीलाई चिकित्सकले आराम गर्न सुझाव दिएका हुन्।
कार्यक्रममा भौतिकरुपमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल सहभागी भएका छन्। सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डअन्तर्गत निर्माणाधीन १ हजार १ सय २६ मिटर लामो सिद्धबाबा सुरुङ राष्ट्रिय गौरवको आयोजना हो। सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा क्षेत्रको सडक अत्यन्त जोखिमपूर्ण मानिन्छ। सो सडकमा बारम्बार पहिरो जाँदा सडक जोखिमपूर्ण भई धेरै मानिसले ज्यान गुमाएका छन्। सडकको झण्डै चार किलोमिटर क्षेत्रलाई अति जोखिमपूर्ण मानिन्छ। सोही जोखिम टार्न सुरुङ मार्ग बनाइएको हो।
यता एसियाली विकास बैंकको सहयोगमा बुटवल–गोरुसिङ्गे सडक चार लेनको बन्न लागेको हो। पहिलो चरणमा ५० किलोमिटर सो सडक स्तरोन्नति भएपछि दोस्रो चरणमा गोरुसिङ्गेबाट चन्द्रौटासम्मको १९ किलोमिटर सडक निर्माण गर्ने योजना रहेको छ।