अखिलको २३औं सम्मेलनः अध्यक्षका लागि ६ जना प्रतिस्पर्धामा

अखिलको २३औं सम्मेलनः अध्यक्षका लागि ६ जना प्रतिस्पर्धामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । १२ माघमा हुने निर्वाचनका लागि अध्यक्षमा ६ जनाको उम्मेदवारी परेको हो ।

६ जनामध्ये चार जनाले प्यानलै बनाएका छन् भने दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उपदेश यादव, विजयप्रकाश सापकोटा, सुदिन पौडेल र हेमन्त राईले प्यानल बनाएर उम्मेदवारी दिएका छन् । यस्तै, योगेन्द्र बुढा र विश्वमणि थापाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उम्मेदवारहरूलाई पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र तीन जना उपमहासचिवको छुट्टाछुट्टै साथ रहेको छ । यादव नारायणकाजी श्रेष्ठनिकटका हुन् भने सापकोटा उपमहासचिव शक्ति बस्नेत, पौडेल वर्षमान पुन र राई जनार्दन शर्मानिकट मानिन्छन् ।

यादव प्यानलबाट महासचिवमा सञ्जीव फुँयालले उम्मेदवारी दिएका छन् । यस्तै, पौडेल प्यानलबाट श्याम रोका र राई प्यानलबाट रोशन थापामगर महासचिवका उम्मेदवार बनेका छन् । सापकोटा प्यानलबाट महासचिवका उम्मेदवार टुंग्याउने गृहकार्य जारी छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वसम्मत ढंगले नेतृत्व चयन गर्नका लागि मंगलबार आकांक्षीहरूलाई खुमलटार निवासमा बोलाएर छुट्टाछुट्टै छलफल गरेका थिए । तर, सर्वसम्मत हुने अवस्था नदेखिएपछि उनले निर्वाचनबाटै नेतृत्व चयन गर्न र हेडक्वार्टरबाट कसैको पक्षधरता नलिइने बताएका थिए ।

नेतृत्वका आकांक्षीहरूले आफ्नो अडान नछाडेपछि सर्वसम्मत नेतृत्व चयन गर्ने अध्यक्ष प्रचण्डको प्रयास असफल भएको थियो । नेतृत्वका आकांक्षीहरूलाई खुमलटार निवासमा बोलाएर नेतृत्वमा आएपछि के गर्ने भन्दै उनीहरूको अगामी योजना, रणनीतिलगायतका विषयमा प्रचण्डले चासो व्यक्त गरेका थिए ।

प्रचण्डले अध्यक्षमा सर्वसम्मत गराउन खोजका थिए । तर, अध्यक्षका आकांक्षीले आफ्नो अडान नछाडेपछि निर्वाचनबाटै टुंगो लगाउने गरी अगाडि बढिएको हो । ‘अध्यक्षका दाबेदारहरूले आफ्नो अडान छाडेनन्, अब निर्वाचनबाटै टुंगो लाग्नेछ, प्रतिस्पर्धाबाट जो विजयी हुन्छ, उही अखिलको अध्यक्ष हुन्छ,’ खुमलटार स्रोतले भन्यो ।

उम्मेदवारी दर्ता अनलाइनबाट भएको छ । मंगलबार अनलाइनबाट उम्मेदवारी दर्ता गराउने काम भएको हो । सहमति जुटाउन माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, विद्यार्थी इन्चार्ज हिमाल शर्मा र निवर्तमान अध्यक्ष पञ्चा सिंहले प्रयास गरे पनि उनीहरू असफल भए ।

अखिलको नयाँ विधानअनुसार ३३ जना पदाधिकारी, ४८ केन्द्रीय सचिवालय र १ सय ६२ केन्द्रीय सदस्य गरी २ सय ४३ जनाको केन्द्रीय समिति चयन हुनेछ । पदाधिकारीमा एक अध्यक्ष, ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ जना सचिव र एक जना कोषाध्यक्ष रहनेछन् ।

यसअघि अखिलमा उमेर हदबन्दीको विषयलाई लिएर भद्रगोल अवस्था सिर्जना भएको थियो । त्यसपछि निर्वाचनमार्फत सो विषयमा टुंगो लगाइएको थियो । निर्वाचनबाट ३२ वर्षे उमेर हदबन्दी लागू गर्ने निर्णय भएको थियो । ३२ वर्षे उमेर हदबन्दी लागू भएपछि अध्यक्षका अकांक्षी कतिपयले बिदा लिनुपरेको छ ।

यसअघि १० असोजमा पार्टी अध्यक्ष प्रचण्डले उद्घाटन गरेको अधिवेशन नेतृत्व चयन नगर्दै विवादका कारण स्थगित भएको थियो । त्यसपछि १७ पुसमा निर्वाचन गर्ने मिति तोकिएकामा उमेर हदबन्दी विवादका कारण पुनः स्थगित भएको थियो ।