काठमाडौं, २६ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भिडिओ सन्देश जारी गरेका छन् । जेन जी पुस्तालाई सम्बोधन गर्दै उनले भिडिओ जारी गरेका हुन् । उनले सुरुमै आफू कांग्रेसको महामन्त्रीको हैसियतमा नबोलेको भनेका छन् । जेन जी पुस्ताको लागि गर्नुपर्ने काम गर्न नसकेकोमा उनले सुरुमै माफी मागेका छन् ।
भदौ २३ गते १९ जना युवाहरुको हत्या भएको घट्नामा आफू प्रत्यक्ष रुपमा संलग्न नभएको भएपनि माफी माग्ने भनेका छन् । त्यो घट्ना अपराध थियो भन्ने उनको टिप्पणी थियो । सोसल मिडिया बन्द गर्ने निर्णय गर्दा आफू सुरुमा दौडिएर सभापति शेरबहादुर देउवाकहाँ गएको पनि थापाले स्मरण गराएका छन् । सोसल मिडियामा प्रतिबन्ध लगाउने काम रोक्न सकेको भए यस्तो ठूलो घट्ना नघट्ने उनको दाबी छ ।
जेन जी मुभमेन्टमा समर्थन गर्नुहुन्छ भनेर आफ्नी छोरीले सोध्दा आफूले समर्थन गर्छु भनेको पनि थापाले स्मरण गराएका छन् । तर, त्यो मुभमेन्टमा कसैले कतै घुसपैठ गर्छ कि भन्ने आशंका रहेको उनको भनाई छ । त्यो घट्ना घटेको दिनको साँझमा गृहमन्त्री रमेश लेखकलाई भेट्दा तुरुन्त राजीनामा दिन भनेको उनले सम्झाए ।
भदौ २४ गते बिहान सरकारबाट फिर्ता हुन भनेर सभापतिलाई भनेको पनि स्मरण गराए । आफ्नो घरमा आगो लगाउन आउनेहरु केही नयाँ पार्टीका मान्छे र केही पूराना पार्टीका मान्छेपनि रहेको उनको दाबी छ । सुरुमा गाडीमा आगो लगाईएको र एकै छिनमा घरपनि आगो लगाईएको उनको भनाई छ । तर, त्यही भीडमा रहेका केही युवाहरुले आफूहरुलाई पछाडिको बाटो बनाएर बुवा, आमा, हिँड्न नसक्ने कान्छो बुवा, श्रीमती र छोरीहरुलाई निकालेको भन्दै आभार व्यक्त गरेका छन् । आफ्नो जलेको घर घरमात्रै नभएर दुःख गरेर सिर्जना गरिएको कुरा ध्वस्त भएको भन्दै दुःख व्यक्त गरेका छन् ।
उनले आफूहरु पनि तीन जना बुढा नेताहरु बिदा हुनुपर्छ भनेर लडेको पनि स्मरण गराए । सभापति देउवासँग दलको नेतामा चुनावपनि लडेको उनले स्मरण गराए । उनले सरकारले एकपछि अर्को गरेर नराम्रो काम गरेको स्मरण गराए । कुलमान घिसिङलाई नहटाउन भनेको पनि उनले सम्झाए । खराब काम गर्ने कांग्रेस र एमालेकालाई नजोगाउन भनेको पनि उनले बताए । भनेको काम गर्न नसकिएपछि आफूले सरकार चलाउन बनाएको संयन्त्रपनि छाडेको उनले भने ।
उनले नेपालको इतिहासमा आन्दोलन हुँदै गर्दा यत्रो सार्वजनिक सम्पत्तिमा क्षति कहिल्यैपनि नभएको स्मरण गराएका छन् । यो कसले गराएको हो भनेर छानबिन हुनुपर्ने माग गरेका छन् । कसले गरेको र किन गरेको ? जसले गरेको हो उसले सजाय पाउनुपर्नेमा थापाको जोड छ । प्रत्येक नेताहरुको सम्पत्तिको छानबिन हुनुपर्नेमा उनको जोड छ । नयाँ बन्ने सरकारले तत्काल कानून बनाएर शक्तिशाली आयोग बनाएर आफू, परिवार र सबैको आय तथा व्यवसाय सबैको बारेमा छानबिन हुनुपर्ने र जसले गल्ती गरेको उसको सम्पत्ति राष्ट्रियकरण गरिनुपर्ने कुरा ठीक रहेको बताए । जेन जी को भावनाअनुसार काम गर्ने कुरा ठीक रहेको उनको भनाई छ । उनले अहिलेको संविधान सबैको सन्तुलन मिलाएर बनाएको उल्लेख गर्दै संविधानको निरन्तरतालाई ख्याल गर्न जेन जीलाई भनेका छन् । जे गरेपनि संविधानमा टेक्न भनेका छन् ।