जनताले ओली-देउवालाई खेदे, तर तिनले लगाएको झुटो मुद्दा मेरो टाउकोबाट अझै हटेको छैन : रवि

जनताले ओली-देउवालाई खेदे, तर तिनले लगाएको झुटो मुद्दा मेरो टाउकोबाट अझै हटेको छैन : रवि

म लोकतन्त्रका लागि अन्तिमसम्म उभिन्छु : सभापति लामिछाने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई कारागारबाट निस्किने चाहना नभएको स्पष्ट पारेका छन्। बुधबार साँझ फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उहाँले भिड बढेपछि कारागार प्रशासनले जबरजस्ती बाहिर निकालेको दाबी गरे।

लामिछानेले भने, 'भिड बढेपछि कारागारले मलाई जबरजस्ती बाहिर निकालेको हो। मैले बिनापत्र जान्न भनेको हुँ। कारागार प्रशासनले दिएको पत्र सार्वजनिक गरिसकेको छु।'

उनले यसबारे नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई समेत औपचारिक जानकारी गराइसकेको बताए। प्रहरी–प्रशासनले आफैंलाई 'सुरक्षा दिन नसक्ने' जवाफ दिएको र न्यायिक निकायलाई पनि जानकारी गराइएको उनले बताए।

लामिछानेले आफूलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवाले लगाएको 'झुटा मुद्दा" अझै नहटेको गुनासो गरे।

'जनताले ओली–देउवालाई खेदे। तर तिनले लगाएको झुटो मुद्दा मेरो टाउकोबाट अझै हटेको छैन,' उनले भने।

उनले आफूमाथिको मुद्दा कानुनी माध्यमबाटै लडिरहने बताए।

लामिछानेले सरकार बनाउने वा सरकारमा जाने कुनै दौडमा नभएको प्रष्ट पार्दै भने, ''म सरकार बनाउने वा सरकारमा जाने कुनै दौडमा छैन। यो आन्दोलन जेन-जीले गरेको हो। अबको नेतृत्व पनि जेन-जीले नै तय गर्छ,' उनले भने।

उनले लोकतन्त्र र नागरिक सर्वोच्चताको पक्षमा अन्तिमसम्म अडिने बताए।

'देश लोकतन्त्र रहनुपर्छ। नागरिक सर्वोच्चता रहनुपर्छ। यो विषयमा कसैसँग नडराइ दह्रोसँग उभिने तागत बाँचुन्जेल राख्नेछु,' उनले भने।

लामिछानेले आफूमाथि भएको व्यवहारलाई राजनीतिक प्रतिशोधको रुपमा भएकाे बताए।

उनले आफू लाखौंको भीडसँगै पनि, र एक्लै पनि, राजनीतिको मैदानमा उभिन तयार रहेको भन्दै अन्तिमसम्म नडराई लड्ने अठोट व्यक्त गरेका छन्।