काठमाडौं। पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज रूपन्देही जिल्ला अदालतमा हाजिर हुँदै छन्। बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि आज उनी अदालतमा हाजिर हुन लागेका हुन्।
पोखराको सूर्यदर्शन सहकारी ठगीको अभियोगमा जिल्ला अदालत कास्कीबाट लामिछाने ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए। त्यस्तै, काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ६० लाख बुझाएर रिहा भएका थिए।
दुवै जिल्ला अदालतमा धरौटी रकम बुझाएर रिहा भएपछि थुनछेक आदेशका लागि लामिछाने आज रूपन्देही जिल्ला अदालतमा उपस्थित हुन लागेका हुन्।
लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रूपन्देही अदालतमा पूरक दर्ता भएको थियो। लामिछाने, छविलाल जोशी, जिबी राईसहित पूरक अभियोगका १४ र सुरु मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।
लामिछाने र पूर्व-डिआइजीसमेत रहेका जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक र गितेन्द्रबाबु राई जिबीसहित १७ जनालाई थप कसुर र बिगो थपसहितको मुद्दा दर्ता भएको हो। लामिछानेसँग ४ करोड बढी बिगो माग गरिएको छ।
पहिलोपटक ०८१ वैशाख ३ गते रवि र छविका साझेदार एवं सुप्रिमका सञ्चालक गितेन्द्रबाबु र राई (जिबी), सुप्रिमकै अध्यक्ष ओमप्रकाश गुरुङ, सहकारीका व्यवस्थापक सागर केसी र कुमार रम्तेलसहित २८ जनालाई सहकारी ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो। तर, रवि पोखरामै हुँदा जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएको थियो। त्यसपछि बयानका लागि उहाँलाई रूपन्देही लगिएको थियो।
सहकारी संस्था बचत अपचलनसम्बन्धी छानविन गर्न बनेको सांसद सूर्यबहादुर थापा क्षत्री नेतृत्वको संसदीय छानविन विशेष समितिले लामिछानेले सुप्रिम सहकारीको पनि रकम अपचलन गरेर ग्यालेक्सी टेलिभिजनमा लगेको निष्कर्ष निकालेको थियो। जसका लागि एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको संसदीय समितिको प्रतिवेदनमा उल्लेख छ।
संसदीय समितिको प्रतिवेदन र विभिन्न तथ्यलाई आधार मान्दा सुप्रिम बुटवलबाट १४ करोड ३० लाख रुपैयाँ साँवा गोर्खा मिडिया नेटवर्कमा लगानी भएको छ। उक्त रकममध्ये २ करोड रुपैयाँ लामिछानेको नाममा व्यापार कर्जा स्वीकृत गरेर चलानी भएको छ।
तर, यसको ब्याजको हिसाब गर्न र अन्य कुरा मिलाउन बाँकी रहेकाले तलमाथि हुनसक्ने देखिन्छ। सुप्रिम सहकारीको प्रतिवेदन हेर्दा २०७७ चैतमा गोर्खा मिडिया नेटवर्कको खातामा रविकै नाममा जम्मा भएको छ। उक्त खाता ग्लोबल आइएमई बैंकको हो।
रविको नाममा गएको दुई करोडमध्ये ४ लाख रुपैयाँ बैंकले सेवा शुल्कका रूपमा कटाएको छ । यो रकम जम्मा गर्ने सागर केसी र रोशनी गुरुङ हुन्। रोशनी सुप्रिमको लेखा शाखामा काम गर्थिन् भने सागर व्यवस्थापक थिए। उनीहरूले संसदीय समितिको बयानमा रविकै नाममा रकम जम्मा गरेको बताएका थिए।
रास्वपा कोषाध्यक्ष विपिनकुमार आचार्यको नाममा पनि सुप्रिम सहकारीबाट रकम प्रवाह भएको देखिन्छ। अभियोग पत्रमा विपिनको नामबाट ०७८ पुसमा १ करोड ५६ लाख १५ हजार गोर्खा मिडिया नेटवर्कको खातामा पुगेको छ।
आचार्य सञ्चालक रहेको नोबडी प्रोडक्सन कम्पनीमा पनि सुप्रिम सहकारीबाट रकम प्रवाह भएको छ। सहकारीको प्रतिवेदनअनुसार २०७७ कात्तिकमा सुप्रिम सहकारीबाट प्रोडक्सनको नाममा ७५ लाख रुपैयाँ जम्मा गरेको देखिन्छ। विपिनको नाममा जम्मा भएको रकमबारे अदालतमा लगिएको अभियोग पत्रमा पनि स्पष्ट लेखिएको छ।
कस्तो सहकारी हो सुप्रिम ?
सुप्रिम सहकारी बचत तथा ऋणसँग सम्बन्धित सहकारी हो। रूपन्देहीको बुटवलमा आर्थिक वर्ष २०५७/०५८ मा दर्ता भएको यो सहकारी मैत्रेय बचत तथा ऋण सहकारी संस्थाको नाम परिवर्तन भएर सुप्रिय बचत तथा ऋण सहकारी संस्था बनेको थियो।
वि.सं. २०५७ मा सहकारी स्थापना हुँदा अध्यक्ष स्वर्गीय राजु गुरुङ, उपाध्यक्ष माया गुरुङ, सचिव ओमप्रकाश गुरुङ तथा सदस्यहरू धनबहादुर गुरुङ, अकबहादुर गुरुङ, पौबहादुर गुरुङ, फत्तबहादुर गुरुङ थिए । तर, अध्यक्ष राजु गुरुङको दुर्घटनामा मृत्यु भएपछि संस्थाका उपाध्यक्ष माया गुरुङ अध्यक्ष बनिन्। सहकारी अद्यावधिक भए पनि कारोबार खासै थिएन । कारण पारिवारिक नाताका मान्छे समितिमा आएपछि आफूखुसी चलेको थियो।
त्यसपछि देशभर सहकारी संस्थाको नेटवर्क बनाएर बचतकर्ताको रकम हिनामिना गरिरहेका जिबीको प्रवेश भएको थियो । २०७२ मा राई समूह प्रवेश गरेसँगै सहकारीको नाम पनि फेरेर सुप्रिम राखिएको संसदीय समितिको प्रतिवेदनमा उल्लेख छ।