'सरकारलाई घेराबन्दीमा पार्न चलखेल'

'सरकारलाई घेराबन्दीमा पार्न चलखेल'

काठमाडौं। नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेस-एमाले गठबन्धन सरकार पूरै अवधि कायम रहने बताएका छन्। मंगलबार एमाले लमजुङले सञ्चालन गरेको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दैै उनले कांग्रेस–एमालेको गठबन्धन मजबुद बन्दै गएपछि विपक्षीहरुले सरकार ढल्दैछ भन्ने भ्रम फैलाएको बताए। कांग्रेस–एमालेको सरकार मजबुद बनेसँगै विपक्षीहरुमा छटपटी नै सुरु भएको बताए। ‘सरकार तीन वर्षसम्म चल्ने भएपछि विपक्षी दललाई छटपटाहट भएको छ,’नेता ज्ञवालीले भने।


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लक्षित गर्दै उनले प्रतिपक्षी दलहरुले घरी राजावादीलाई भेट्ने, रविलाई किन कारबाही गरेको भन्ने, कहिले मोर्चा बनाउँछु भन्नेजस्ता गतिविधि गरिरहेको बताए । मुलुकमा देखिएको सङ्कट समाधान गर्नका लागि वर्तमान सरकार बनेको दाबी गर्दै नेता ज्ञवालीले सत्ताबाट बाहिरिनुपर्दा दलहरुले फिँजाएको भ्रममा नपर्न आग्रह गरे ।

साथै, सरकारलाई घेराबन्दीमा पार्न विभिन्न चलखेल सुरु भएको पनि उनले बताए । नेता ज्ञवालीले वर्तमान सरकार जस्तोसुकै घेराबन्दीमा पनि नडगमगाउने बताए । उपमहासचिव ज्ञवालीले जनताको समस्या समाधान गर्नका लागि अध्यादेश ल्याइएको पनि बताए । उनले सुशासन र प्रभावकारी सेवा प्रदान गर्न अध्यादेशमार्फत कानुन बनाएको दाबी गरे ।