काठमाडौं। संघीय संसदमा विचाराधीन विधेयकमा साझा अवधारणा बनाएर अगाडि बढाउने सहमति भएको छ। प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतकबीच आज भएको छलफलमा त्यस्तो सहमति भएको हो।
सिंहदरबारस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको कार्यालयमा भएको छलफलमा विचाराधीन विधेयकमा साझा अवधारणा बनाएर अगाडि बढाउने सहमति भएको नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए। उनले विधेयकहरुलाई कसरी अगाडि बढाउने र चाँडो पारित गराउने भन्ने विषयमा छलफल भएको बताए।
संसद्लाई प्रभावकारी बनाउने र संसदीय प्रक्रियामा साझा धारणा बनाएर अगाडि बढ्ने निष्कर्ष बैठकले निकालेको एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले बताए।
बैठकमा संसद्को विषयगत समितिमा रहेका विधेयकलाई सत्तापक्ष र विपक्षी दलको साझा धारणा बनाएर चाँडो टुङ्ग्याउने विषयमा पनि नेताहरुबीच कुराकानी भएको थियो। बैठकमा कांग्रेसका प्रमुख सचेतक घिमिरे, एमालेका प्रमुख सचेतक बर्तौला, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सन्तोष परियार सहभागी थिए।