काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सेवा दिन र विकासको गति दिन सरकारले विभिन्न कानूनमा संशोधन गर्न अध्यादेश ल्याएको स्पष्ट पारेका छन्। स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्प्पान)को रजत जयन्तीका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी १५ दिनपछि हुने संसद अधिवेशनमा पेस गरी दुई महिनाभित्र पारित गर्ने बताए ।
उनले भने, ‘जनतालाई सेवा दिन र व्यवसायीलाई सकारात्मक सहयोग गर्न हामीले अध्यादेश ल्याएका हौं । कतिपयले अध्यादेशले शासन गर्न खोज्यो भनेर विरोध गर्न खोजेका छन् । १५-२० दिनभित्र संसद आइसक्छ, त्यहाँ पेस गर्छौं, छलफल गर्छौं र अगाडि बढाउँछौं । हामी दुई महिनाभित्र टुंगो लगाइसक्छौं । महत्वपूर्ण कुरालाई दुई महिना कुर्न सक्दैनौं । काम गर्न कानून फेरेरै अगाडि बढ्छौं।’
प्रधानमन्त्री ओलीले आयातित फोसिल फ्युलको कम प्रयोग गर्दै नवीकरणीय ऊर्जाको प्रयोग बढाएर मुलुकलाई समृद्ध बनाएरै छाड्ने दृढता व्यक्त गरे ।