अदालत परिसरमै कुटिएका वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए उजुरी

अदालत परिसरमै कुटिएका वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए उजुरी

काठमाडौं। सहकारी पीडितको पक्षमा बहस गर्न जिल्ला अदालत काठमाडौं पुगेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालत परिसमै कुटिएपछि प्रहरीमा उजुरी दिएका छन् । ज्यान मार्ने उद्योग र आपराधिक उपद्र भएको भन्दै बिहीबार उनले प्रहरी वृत्त सिंहदरबारमा उजुरी दिएका हुन् ।


बुधबार त्रिपाठी काठमाडौं जिल्ला अदालतमा रास्वपाका कार्यकर्ताबाट कुटिएका थिए । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको विपक्षमा बहस गर्न अदालत गएका उनी रविकै कार्यकर्ताबाट कुटिएका थिए । सो घटनाको चौतर्फी आलोचना भइरहेको छ । त्रिपाठीमाथिको आक्रमणप्रति नेपाल बार एसोशियसन, जिल्ला बारसहित विभिन्न राजनीतिक दलहरुले विज्ञप्ति जारी गरेर भत्सर्ना गरेका छन् ।

त्रिपाठीमाथि आक्रमण गर्ने एक जनालाई बुधबार नै प्रहरीले पक्राउ गरेको थियो । दोलखाको तामाकोशी गाउँपालिका १ घर भइ हाल ललितपुर बस्ने ललित केसी बुधबार पक्राउ परेका थिए । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।