यो सरकार अन्ततः ढल्नु नै छ, आयु लामो छैनः प्रचण्ड

यो सरकार अन्ततः ढल्नु नै छ, आयु लामो छैनः प्रचण्ड

काठमाडौं,। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारको आयु धेरै लामो नरहेको बताएका छन् । आज (मंगलबार) प्रेस सेन्टर सिन्धुपाल्चोकले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार अप्राकृतिक रुपले बनेकाले यसको आयु लामो नहुने बताएका हुन् । सरकारको आफ्नै क्रियाकलापले समेत आयु घटाइरहेको उनको भनाइ छ । वर्तमान सरकार ढाल्न माओवादीलगायतका दलहरुले बल गर्नै नपर्ने उनले बताए ।


‘यो सरकार टिकिराखोस् भन्ने त हाम्रो चाहना हुँदैन । तर, यो अप्राकृतिक भएको हुनाले यो ढलिनै हाल्छ, हामीले बल नै गर्न पर्दैैन । यसको आयु धेरै छ जस्तो मलाई लागेको छैन । मैले मिति तोक्न त मिल्दैन, मिल्ने पनि होईन । हामी गम्भीर रुपले घटना क्रमलाई हेरिरहेका छौं । अहिले जसरी सरकार चलिरहेको छ, त्यसले पनि आयु आफैं छोट्यायो भन्ने मलाई लागेको छ,’– उनले भने ।

सबैभन्दा ठूला सत्तारुढ दल नेपाली कांग्रेसभित्रै सरकारप्रति जबरजस्त ढंगले असन्तुष्टि चुलिएको प्रचण्डको दाबी छ । प्रचण्डका अनुसार कांग्रेसको संस्थापन समूहमा रहेका नेताहरुको पनि असन्तुष्टि बाहिर आइसकेको छ । यस्तो अवस्थामा सरकार सहज ढंगले अगाडि जाने अवस्था नरहेको उनले बताए ।

साथै, माओवादीले सरकार गिराउने र तुरुन्तै सरकारमा जाने भनेर कुनै प्रयास नगरेको उनले बताए । माओवादी अहिले जनताको बीचमा गएर संगठन सुदृढ गर्ने अभियानमा रहेको, स्थानीय तहदेखि नै भेला तथा सम्मेलनहरु भइराखेको र आफूहरुको अभियानलाई जनताले राम्रो मानिराखेको उनले बताए । आफूले प्रधानमन्त्री हुँदाभन्दा अहिले बढी सहज र रिल्याक्स महशुस गरेको प्रचण्डले बताए ।