लसएन्जलसको आगलागीमा परी २४ जनाको मृत्यु, २३ बेपत्ता

लसएन्जलसको आगलागीमा परी २४ जनाको मृत्यु, २३ बेपत्ता

काठमाडौं। अमेरिकाको लसएन्जलसमा फैलिएको आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन। आगोमा जलेर २४ जनाको मृत्यु भइसकेको छ भने २३ जना बेपत्ता छन्।

अमेरिकी राष्ट्रपति जो बाइडनले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। प्यालिसेड्सको पहाडी क्षेत्रबाट सुरु भएको डढेलो इटन र हर्स्ट क्षेत्रका बस्तीमा फैलिएको छ।

सबैभन्दा धेरै प्रभावित क्षेत्रको पहिलो नम्बरमा प्यालिसेड्स छ। प्यालिसेड्सको २३ एकडभन्दा बढी क्षेत्रमा आगो फैलिएको र जम्मा १४ प्रतिशत हिस्सामामात्र आगो नियन्त्रणमा सफलता मिलेको बीबीसीले जनाएको छ। आगो निभाउन पाँच हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको छ।

आगोबाट अति प्रभावित क्षेत्रको दोस्रो नम्बरमा इटन छ। यसको १४ हजार एकड क्षेत्रमा आगो फैलिएको छ र ३३ प्रतिशत हिस्सामा मात्र नियन्त्रणमा लिन सकिएको छ । यसको अर्थ ३३ प्रतिशत क्षेत्रमा आगो निभाइएको नभई आगो फैलिन नदिइएको हो

लस एन्जलसमा लागेको भीषण डढेलो र आगलागीका कारण आफ्नो घरबाट विस्थापित भएका दशौं हजार मानिस कम्तीमा चार दिनसम्म घर फर्कन नसक्ने अधिकारीले बताएका छन् ।

आगलागीमा परी मृत्यु हुनेको संख्या यो समाचार तयार पार्दासम्म २४ पुगेको छ भने विस्थापितको संख्या करिब एक लाखको हाराहारीमा रहेको छ । यस पहिले करिब एक लाख ८० हजारभन्दा बढी व्यक्ति विस्थापित भएकोमा कम जोखिम रहेका क्षेत्रमा मानिस फर्किसकेका छन् ।

पलिसेड्स फायर र इटन फायरको बीचमा बन्द गरिएको खतरा क्षेत्रमा प्रवेश गर्ने आशामा निराश विस्थापितहरूले चेक प्वाइन्टहरूमा लाइनहरू बनाएका छन् । धेरैजना घर फर्कन आतुर छन् किनकि उनीहरूले केही क्षणको सूचना पाएर औषधि वा लुगाफाटामात्रै लिएर घर छोडेका थिए । कतिपय घरमा छुटेका वृद्ध तथा अशक्त परिवारका सदस्यको अवस्थाबारे जानकारी पाउन उत्सुक छन् ।

लस एन्जलस काउन्टीका अग्नि नियन्त्रक एन्थोनी मारोनले भनेका छन्, ‘यस हप्ता हावाहुरीको पूर्वानुमानले आगलागीको आपत्कालीन अवस्था अझै सकिएको छैन । उहाँले पत्रकार सम्मेलनमा भन्नुभयोे, उनीहरू घर जान सक्दैनन्, किनभने अझै बस्तीहरू सुरक्षित छैनन् ।’

उनले भने, ‘जतिसक्दो चाँडो बासिन्दालाई उनीहरूको घरमा फिर्ता ल्याउनु हाम्रो सामूहिक प्राथमिकता हो । बुधबारसम्म चल्ने तीव्र बतासलाई संकेत गर्दै उहाँले भन्नुभयोे, यो कुराकानी अनुमानित रेड फ्ल्याग इभेन्टको अन्त्यसम्म हुने छैन । कृपया निश्चिन्त हुनुहोस् । बिहीबार हामी पुनरुत्थानको बारेमा कुरा सुरु गर्नेछौं ।’

गत हप्ता एक लाख ८० हजारको हाराहारीमा रहेका अग्नि नियन्त्रक क्षेत्रमा करिब एक लाख मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आदेश दिइएको छ। डढेलोको चपेटामा परेका क्षेत्रहरू तहसनहस भएका छन्, पूरै सडकहरू खरानीमय बनेका छन् र पूर्वाधारहरू नराम्ररी ध्वस्त भएका छन् ।

लस एन्जलस काउन्टीका शेरिफ रोबर्ट लुनाले जोखिमको सम्भावनालाई संकेत गर्दै आफू मातहतका प्रहरी अधिकारीले मानिसहरूलाई डढेलो र आगलागी क्षेत्रबाट बाहिर राख्न निर्देशन दिएको बताए। उनले भने,  ‘यी मध्ये धेरै क्षेत्रहरू अझै पनि भग्नावशेषकै अवस्थामा रहेका छन् । विद्युत् बगिरहेका बिजुलीका तार, ग्यांस लाइन र अन्य खतराका कारण बस्तीमा प्रवेश सहज छैन ।’

आगो फैलिनुका कारण
यो सुक्खा मौसमको समय हो । जसका कारण लस एन्जलस वरपरका पहाडी क्षेत्रको जंगलमा रहेका रूख बिरुवा सुकेका छन् । यही समयमा आएको तीव्र गतिको हावासँगै आगो लाग्दा सिंगो जंगल नष्ट भएको छ । जंगलबाट फैलिएको आगो शहरी इलाकामा प्रवेश गरेपछि ठूलो क्षति हुन पुगेको हो । अब यो आगो कसरी फैलियो भन्नेबारेमा चाहिँ अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् । क्यालिफोर्नियाको फायर सर्भिसका बटालियन प्रमुख डेभिड एक्युनाका अनुसार यो क्षेत्रमा करिब ९५ प्रतिशत आगो स्थानीय मानिसले नै लगाएका हुन्छन् । तीव्र हावा र वर्षाको कमी आगलागीको मुख्य कारण बनिरहेको छ । जलवायु परिवर्तनले यो अवस्थालाई झनै जटिल बनाएको छ । अमेरिकी सरकारको अनुसन्धान अनुसार पश्चिमी अमरिकामा ठूलो मात्रामा जंगलमा आगो लाग्ने घटना जलवायु परिवर्तनसँग सम्बन्धित छन् । बढ्दो गर्मी, लामो समयसम्म सुक्खा हुने र पानी नपर्नेजस्ता समस्याले क्यालिफोर्नियाजस्ता राज्य असुरक्षित बन्दै गएका छन् ।

अमेरिकामा खासगरी अक्टोबरसम्मका महिनामा बढी आगलागीका घटना हुन्छन्। तर, पछिल्लो समयमा वर्षभरी नै यस्ता समस्याहरू देखिन थालेका छन् । पेलिसेड्स क्षेत्रमा पछिल्लो ३० वर्षमा नवरी महिनामा भएको यो तेस्रो ठूलो आगलागीको घटना हो। यो आगलागीको अर्को प्रमुख कारण भनेको ‘सेन्टा एना’ हावा पनि हो । जुन हावा जमिनबाट समुद्री तटतर्फ बहने गर्छ । एक सय किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने यो हावा पनि आगो फैलिनुको प्रमुख कारक हो । सेन्टा एना हावा अमेरिकाको पूर्वी या उत्तर–पूर्वी दिशाबाट तटीय क्षेत्रमा बहन्छ । वर्षमा दुईदेखि चार पटकसम्म चल्ने यो सेन्टा एना हावा आमरूपमा सेप्टेम्बरदेखि मे महिनासम्म चल्छ । केही दिन वा हप्तासम्म निरन्तर पनि हावा चल्न सक्छ । यसपटक पनि यो हावा ६० देखि एक सय माइल प्रतिघण्टाको दरले चलिरहेको छ।
मौसम विभागका वैज्ञानिक रिच थम्प्सनले सेन्टा आना हावाको वेगले आगो फैलिन मद्दत गरेको र यो तत्काल रोकिने अवस्था नरहेको बताएका छन् ।