काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पूर्वराष्ट्रपति तथा पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिबाट रोक्ने निर्णय गरे पछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको राण्नीति निर्माणमा जुटेकी छिन् ।
आगामी २०–२३ भदौमा एमालेको विधान महाधिवेशन हुदैछ । विधान महाधिवेशनबाट आफूले खोजेजस्तै विधान हेरफेर गराउने रणनीति भण्डारीको छ । भण्डारीले ७० बर्षे उमेर हदबन्दी राख्नुपर्ने र पालिकादेखि केन्द्रसम्मको पदाधिकारीमा उही व्यक्ति उही पदमा तेस्रो कार्यकाल आउन नपाउने गरी पार्टीको विधान संशोधन चाहेकी छन् ।
तर अध्यक्ष ओली यसका विपरीत छन् । ओलीले उमेर हदबन्दी राख्न नहुने र एउटै पदमा तेस्रो कार्यकालका लागि पनि आउन मिल्ने पार्टी विधान खोजेका छन् ।
त्यसका लागि उनले पार्टीको केन्द्रीय कमिटीबाटै आफू अनुकूल विधान हुने गरी विधान मस्यौदा पारित गराइसकेका छन् । त्यसमा विधान महाधिवेशनबाट भण्डारीले हेरफेर खोजेकी छन् भने ओलीले जस्ताको त्यस्तै पारित गराउने रणनीतिमा छन् ।
गत बिहीबार काठमाडौंको थापागाउँ, नयाँबानेश्वरमा मदन भण्डारी ७५औँ जन्म जयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन गर्दै एमाले पूर्वउपाध्यक्ष भण्डारीले अब त्यही कार्यालयबाट आफ्नो रणनीति अनुसार अगाडी बढिरहेकी छन् । भण्डारीलाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्धय युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा सहितका नेताले साथ दिएका छन् ।
भण्डारी निकट नेताका अनुसार ओली रणनीति अनुसार भण्डारीले दोस्रो ‘प्लान बी’ को ’boutमा समेत छलफल थालेकी छन् । ११औँ महाधिवेशनबाट भण्डारी एमाले अध्यक्ष नहुने गरी रोक्ने र छेक्ने काम भयो भने उनले प्लान बी अनुसार काम गर्नेछिन् । भण्डारीको सदस्यता एमालेले नवीकरण नगरी रोकेको छ । उनको नवीकरण नभए वरिष्ठ उपाध्यक्ष पोखरेललाई अगाडी सार्ने रणनीति भण्डारीको छ ।
‘प्लान बी अनुसार सदस्यता नवीकरण रोक्ने, नवीकरण नगर्ने हो भने अगामी महाधिवेशनमा भण्डारीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अध्यक्षमा प्रस्ताव गर्ने’boutमा समेत छलफल भइरहेको छ । पहिलो केपी कमरेडले के–के गर्नुहुन्छ त्यो हेरौँ, त्यसपछि प्लान बी अनुसार काम हुन्छ,’ भण्डारी निकट एक नेताले भने ।
यसअघि गत १४ असारमा राष्ट्रिय सभागृहबाट सक्रिय राजनीतिमा लागेको घोषणा भण्डारीले गरेकी थिइन् । पार्टीको संगठित सदस्यता नवीकरण गरिसकेर सक्रिय राजनीतिमा लागेपछि हालै बसेको एमाले केन्द्रीय कमिटीको बैठकले उनको सदस्यता ‘होल्ड’ गर्दै राजनीतिमा ‘ब्रेक’ लगाउने निर्णय गरेको थियो ।
एमाले उपाध्यक्ष ज्ञवालीले पार्टीले पूर्वउपाध्यक्ष समेत रहेकी पूर्वराषट्रपति भण्डारीको सदस्यता नवीकरणलाई सदर गर्नुपर्ने जनाएका छन् । ‘विद्या भण्डारीको सदस्यता जो नवीकरण भएको छ, नवीकरण भएकोलाई सदर गर्नुपर्छ । उहाँ पार्टी सदस्य भएर क्रियाशील हुन्छु भन्दा क्रियाशील बनाउनुपर्छ । बरु, पार्टीले काम दिएर जिम्मा दिनुपर्छ,’ उपाध्यक्ष ज्ञवालीले भने ।
भण्डारीको सदस्यता नवीकरण विवाद समाधान गर्न सकिने बताउँदै उनले राष्ट्रपति बनाउने काम एमालेले नै गरेको बताए । भण्डारीले मनलाग्दी राजीनामा दिएर राष्ट्रपति हुन नगएको बताउँदै उनले भण्डारीको सदस्यता सक्रिय बनाउनुपर्ने बताए । ‘पार्टी जिम्मेवारीमा रहेका नेतालाई पार्टीले नै एउटा क्षेत्रमा काम गर्न पठाएपछि त्यहाँबाट फर्केर म पार्टीको काम गर्छु भन्दा पार्टीले जिम्मेवारी दिनुपर्ने हुन्छ,’ उनले भने ।
भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको कुरा एमाले पार्टी पंक्तिलाई थाहा भएको दाबी उनले गरे । ‘विद्या भण्डारीले सदस्यता नवीकरण गरेको कुरा सबैलाई थाहा थियो । हामी सबैलाई थाहा थियो । यो कुरा सचिवालय बैठकमा पनि भएको थियो,’ उनले भने ।
एमाले स्थायी कमिटीका सदस्य कर्णबहादुर थापाले भण्डारीको राजनीतिक सक्रियता नरोकिने स्पष्ट पारेका छन् । सक्रिय हुनुपर्ने कुरामा कसैको अनुमति लिनुपर्ने आवश्यकतासमेत नभएको उनले बताए ।
‘विद्या भण्डारी राजनीतिमा अघि बढ्नुहुन्छ । हामी मृत्यु रोजेर, जेल रोजेर जनताको लागि लडेर अघि बढेका व्यक्ति हौँ, हिजो विद्या भण्डारीले राजनीति गर्दा कहाँ राष्ट्रपति बन्छु भन्ने थियो ? राजनीतिक काम गर्दा देश छोड्नुपर्ने हो र ? कसैले देश निकाला गर्छ ? नागरिकता खोस्न सक्छ कसैले ? अनि के हो त ?,’ थापाले भने ।
आफैले निर्माण गरेको पार्टी भएकोले एमालेमा भण्डारीलाई कसैले पनि इन्ट्री दिन नपर्ने थापाले बताए । ‘उहाँलाई इन्ट्री कसैले दिनुपर्दैन, जनताको बीचमा आफ्ना विषयवस्तु राखेर जाने कुरा हो, यो त उहाँ आफैँले निर्माण गरेको पार्टी हो, यत्रो ठूलो जनमत छ । उहाँ अहिले एमालेमा हुनुहुन्छ । उहाँ एमालेको नेता हुनुहुन्छ । एमालेको जनजनले मन पराएको छ,’ उनले भने ।
राजधानी दैनिकबाट