रवि लामिछानेको पक्षबाट दुई जना पूर्वमहान्यायाधिवक्ताले बहस गर्ने, आजै आउला आदेश ?

रवि लामिछानेको पक्षबाट दुई जना पूर्वमहान्यायाधिवक्ताले बहस गर्ने, आजै आउला आदेश ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका विषयमा जिल्ला अदालत काठमाडौँमा अहिले थुनछेक बहस भइरहेको छ।


रवि विरुद्ध दायर भएको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा पेशी परेको छ । यसअघि आइतबार रविको बयान भएको थियो ।

आइतबार बयानमात्र भएपछि रविलाई प्रहरीको जिम्मा लगाईएको थियो । अहिले रविलाई अदालतमा लगेर थुनछेक बहस सुरु गरिएको हो। थुनछेक बहस सुरु हुनुअघि इजलासमै रहेकी रवि पत्नी निकिताले रविलाई रातो टीका लगाईदिएको थिईन् । रातो टिका विजयको शुभ संकेत मानिन्छ । अहिले सरकारी वकिलले बहस गरिरहेका छन् । सहन्यायाधीवक्ता रामहरि शर्मा काफ्लेसहित ११ जना सरकारी वकिलले रविको विरुद्धमा बहस गर्ने छन्।

सरकारी वकिलले बहस सकेपछि प्रतिवादी पक्षका वकिलहरूले बहस गर्नेछन्। प्रतिवादी लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र सुशील पन्तले बहस गर्नेछन्। न्यायाधीश अधिकारीले सरकारी वकिललाई २ घण्टा र रविपक्षका वकिललाई सवा घण्टाको समय दिएका छन् ।

त्यसपछि पुनः सरकारी वकिलले जबाफी बहस गरेपछि न्यायाधीशले आदेश गर्नेछन्। आजै दुवै पक्षको बहस र जबाफी बहस सकिएको खण्डमा न्यायाधीशले आदेश गर्नेछन्।

रविको पक्षमा बहस गर्न लागेका श्रेष्ठ र पन्त दुवै जना पूर्व महान्यायाधीवक्ता हुन् । यसअघि कास्की जिल्ला अदालतमापनि रविको पक्षमा नै उनीहरुले बहस गरेका थिए । कास्कीको सूर्यदर्शन सहकारी ठगीमा भने लामिछाने बिहीबार धरौटीमा रिहा भएका थिए । जिल्ला न्यायाधीश नीतिज राईको इजलासले रविलाई ६५ लाख धरौटीमा रिहा गरेको थियो ।

लामिछानेविरुद्ध संगठितरूपमा ठगी गरेको आरोप छ । सो प्रकरणमा रविसहित ३९ जनाविरुद्ध पुस २१ गते काठमाडौंमा मुद्दा दायर भएको थियो ।