सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको राप्रपाको निष्कर्ष, सशक्त प्रतिवाद गर्ने चेतावनी

सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको राप्रपाको निष्कर्ष, सशक्त प्रतिवाद गर्ने चेतावनी

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको टिप्पणी गरेका छन् ।

शनिबार राप्रपाले आयोजना गरेको चियापान समारोहमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको र यसले प्रजातन्त र बहुदलीय व्यवस्थासमेत मास्न चाहिरहेको बताएका हुन्।

सरकारले पछिल्लो समय ल्याइरहेको विधेयकमा केन्द्रीत हुँदै अध्यक्ष लिङ्देनले भने, ‘यो सरकार सर्वसत्तावादतर्फ गइराखेको छ । नियमित रुपमा बोलाउनुपर्ने संसद् नबोलाएर देश अध्यादेशको बाटोमा लैजानुभनेको यो सरकारको नियत के हो भन्ने कुरा यसैबाट प्रष्ट हुन्छ । यो सरकार प्रजातन्त्र र बहुदलीय व्यवस्थासमेत मास्न चाहन्छ । यसको हामीले सशक्त प्रतिवाद गर्छौं ।’

त्यस्तै, फरक प्रसंगमा उनले एकअर्काको शर्त मिलेको र विश्वासको वातावरण सिर्जना भएको खण्डमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग एकता हुने बताए । उक्त चियापान समारोहमा राप्रपा नेपालका अध्यक्ष कमल थापापनि सहभागी भए । राप्रपाका अध्यक्ष लिङ्देनले भने, ‘सधै सम्भावना छदै छ नि । कुरा मिल्यो, शर्तहरु मिले, एकअर्कामा विश्वासको वातावरण सिर्जना भयो भने जुनसुकै बेला मिल्न सकिन्छ ।’