सशस्त्रका चार जना डीआईजीको म्याद एक वर्ष थप्ने सरकारको निर्णय

सशस्त्रका चार जना डीआईजीको म्याद एक वर्ष थप्ने सरकारको निर्णय

काठमाडौं। सरकारले सशस्त्र प्रहरीमा चार जना डीआईजी (प्रहरी नायब महानिरीक्षक)हरूको एक वर्ष म्याद थप गरेको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आजै रातिबाट लागुहुने गरि उनीहरुको म्याद थप्ने निर्णय गरेको हो।

अनिवार्य अवकाशमा जान लागेका डीआईजीहरु कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको म्याद थप भएको हो। उनीहरुको जागिरको अवधि सकिएपछि आज (मंगलबार) रातीबाट अवकाशमा जाँदै थिए।

सशस्त्र प्रहरी नियमावली २०७१ ले उनीहरूको एक वर्ष पदावधि थप गर्ने व्यवस्थाअनुसार सशस्त्र प्रहरी मुख्यालयले एक वर्ष पदावधि थप गर्ने प्रस्ताव पठाएको थियो। सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार डीआईजीको चार वर्ष अवधि पूरा गरेर अवकाश हुन लागेको अवस्थामा ‘सरकारले आवश्यक ठाने एक वर्ष पदावधि थप गर्न सक्नेछ’ भन्ने प्रावधान छ। सोहीअनुसार सशस्त्र प्रहरी मुख्यालयले प्रस्ताव पठाएको थियो।

२०५६ असार ३ गते डीआईजी कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ प्रहरी निरीक्षकबाट भर्ना भएका थिए। डीआईजी शम्भु सुवेदी उनीहरूभन्दा अघि भर्ना भएका हुन्। सशस्त्र प्रहरी बल स्थापना भएपछि चारैजना सशस्त्र प्रहरीमा स्थानान्तरण भएका हुन्।