काठमाण्डौ : सुनको भाउ आइतबार तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुनको भाउ आइतबार ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि सुन गएको पुस २३ गते नयाँ रेकर्ड बनाउँदै तोलाको साढे ७६ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसयता घटबढ हुँदै गएको सुनको भाउ माघ १९ र २० गते पनि तोलाको साढे ७६ हजार रुपैयाँ पुगेको सुनको भाउले आज फेरि त्यही भाउ भेटेको हो ।
चीनमा कोरोना भाइरस फैलिएसँगै अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको आकर्षण सुनमा बढेपछि भाउ महँगो भएको नेपाल सुनचाँदी महासङ्घअन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताए । अन्तर्राष्ट्रिय बजारमा सुनको भाग बढेकाले भाउ अझै बढ्ने सम्भावना रहेको उहाँले बताए । यस्तै चाँदी आइतबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।