काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेका ६ उमेदवारलाई स्पष्टीकरण सोधेको छ । आयोगले बिहीबार कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिकाका वडा नम्बर १६ का गरी ६ उमेदवारलाई स्पष्टीकरण सोधेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले उपनिर्वाचनको आचारसंहिता विपरीतका कार्य गरेको पाइएकाले स्पष्टीकरण सोधिएको बताए । “६ जना उमेदवारले आचारसंहिता विपरीत काम गरिएको पाइयो । आयोगले बिहीबार नै स्पष्टीकरण सोधेको छ,” उनले बाह्रखरीसँग भने, “बाहिरका हकमा भने कुनै उजुरी अहिलेसम्म परेको छैन ।”
आयोगले निर्वाचन अचासंहिताको पालना भए/नभएको अनुगमनका लागि टोली गठन गरेको थियो । टोलीले अनुगमनबाट आचारसंहिता विपरीतका कार्य भएको देखिएको रिपोर्ट प्रस्तुत गरेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।
कीर्तिपुर र काठमाडौं–१६ मा निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै अनुगमन टोली खटाइयो आयोगले कीर्तिपुर नगरपालिकाका मेयर उमेदवार नेकपा (माओवादी केन्द्र)का शिवशरण महर्जनलाई स्पष्टीकरण सोधेको छ ।
मेयरकै स्वतन्त्र उमेदार राजनमान महर्जनलाई आयोगले स्पष्टीकरण सोधेको हो । काठमाडौं महानगरपालिका १६ को राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट उमेदवार बनेकी रोजिना श्रेष्ठ, नेकपा (एकीकृत)का मीनबहादुर मानन्धरलाई आयोगले स्पष्टीकरण सोधेको हो ।
काठमाडौं–१६ कै अध्यक्षका लागि स्वतन्त्र उमेदवार बनेका सम शाक्य र पशुपति काठायतलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ ।