विप्लवको नजरमा रास्वपा गर्भबाटै भ्रष्टाचार बोकेको पार्टी, बालेन गँजेडी

विप्लवको नजरमा रास्वपा गर्भबाटै भ्रष्टाचार बोकेको पार्टी, बालेन गँजेडी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मुलुक भ्रष्टाचारले आक्रान्त बनेको टिप्पणी गरेका छन् । उनले पूराना दलका नेताहरुले भ्रष्टाचारबारे दिनदिनै प्रष्टीकरण दिनुपरेको सुनाए । नयाँ दल रास्वपापनि त्यसबाट अछुतो नभएको उनको टिप्पणी छ ।


उनले भने,‘अहिले नेपालमा भ्रष्टाचारको महारोग छ। कोरोना भाइरसजस्तै फैलिएको छ । काठमाडौंमा भ्रष्टाचारीहरुको जुलुश निस्किन्छ । भ्रष्टाचारीहरुको डण्डा बर्सिन्छ । भ्रष्टाचारीहरुको भाषण सुन्नुपर्छ । देशमा अहिले मजाक हेर्नुपरेको छ । उनीहरु मैले विदेशमा पैसा लुकाएको छैन् भनेर प्रष्टीकरणमात्रै दिन्छन् । समाजमा अहिले भ्रष्टाचारको आतंक छ । हिजो प्रचण्डजीको सरकार हुँदापनि उहाँ सरकार ढल्दैन भन्नुहुन्थ्यो, अहिले केपीजीको सरकार छ, उहाँपनि सरकार ढल्दैन भन्दैहुनुहुन्छ । तर जनतालाई के लागेको छ भने यो सरकार आजै ढल्छ । राति ढल्नसक्छ, भोलि विहान ढल्छ भन्ने लागेको छ। अहिले कोही मान्छे सन्तुष्ट छैनन् । केही नयाँ पार्टी छन्, जो गर्भबाटै भ्रष्टाचार बोकेको छ । एड्स रोगीबाट जन्मिएका सन्तानजस्तो । कोही मान्छे गँजेडी छन्, नायकजस्तो बनेका छन् । उनीहरु जनसेवक अरे, अनि हामी को ?’

नेकपाको ११औं ऐतिहासिक पार्टी पूनर्गठन दिवस कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टीको स्थापनाको औचित्य पुष्टि हुँदै गएको सुनाए । उनले भने,‘नेकपा यहाँ पुग्छ भन्ने कसैलाई पनि विश्वास पनि थिएन होला । तर, अहिले सबै अचम्मित छन् । नेकपाको फरक दृष्टिकोण छ । यो लडाईं थियो । हामी सबै माओवादी नै हौं । यो देशमा रगत बगाएका हौं । हामी लडेर आएका हौं । हामी देशभक्त हौं । नेकपा जनताको हितको लागि बनेको हो ।’

उनले आफूहरुले चाहेको व्यवस्था अहिलेसम्म नआएको गुनासो पोखे । उनले भने,‘०६४ सालपछि हामी नयाँ जीवन चाहन्थ्यौं । माओवादीले जुन दिन विजयी हाँसिल गर्नेछ, जनताले विजयी हाँसिल गर्नेछ । जनताको अनुहारमा मुस्कान छाउनेछ । रगतलाई गौरवको रुपमा बुझ्नेछ । मसिर ८गते जनमुक्ति सेना बनेको दिन हो । नेपालमा सुकुम्बासीको अन्त्य भएको हेर्न चाहन्थ्यौं । जनजातिहरु सत्तामा पुगेको हेर्न चाहन्थ्यौं । युवाहरुले नेपालमै बसेर देश बनाएको हेर्ने हो । २१औं शताब्दीमा जनयुद्ध लडेका युवाहरु यही देशमा बस्नुपर्छ । गणतन्त्रलाई ठूलो उपलब्धिको रुपमा हेर्नुपर्छ । जनताका अधिकार पनि प्राप्त भए । तर, जनताको जीवनमा परिवर्तन भएन । नेपाल देश स्वाधिन भएन । क्रान्तिले पूर्णता पाउन सकेन । नेपाली जनताको व्यवस्था बन्न सकेन । क्रान्ति अधुरो भयो । अधिकार अधुरो भयो । नौजवानले आफ्नो भविष्य अन्धकार भएको महशुस गरे । हाम्रा मान्छेहरुलाई अपमानित हुन दिनुहुँदैन् ।’

उनले अहिले मुलुक दलाल पुँजीपतिहरुको कब्जामा परेको आरोप लगाए । उनले भने,‘यहाँ रातारात भित्रिएका खर्बपतिहरु दमन चलेको छ । नेपालमा अहिले केही हुँदैन भन्ने निराशा छाएको छ । १७ हजार मान्छेको बलिदानपछि आउने व्यवस्था यस्तै हो ? संसद्मा समेत बलिदान गर्ने, क्रान्ति गर्नेहरुमाथि, खिल्ली उडाउने काम भएको छ । जसले परिवर्तन गर्यो, बलिदान, क्रान्ति गर्यो उ चाहीँ अपमानित हुनुपर्ने ? दलाल पुँजीपतिहरुको सत्ताले यो हालत भयो । यो देशमा भोकै मर्न तयार हुनुपर्छ । यो देश दलालहरुको हातमा सुम्पिएर विदेश जानुहुँदैन् । तराईका खेतसँग खेल्ने हो । दलाल पुँजीपतिहरुले केही समय जितेका छन् । त्यो भ्रम हो । नेकपा छ, जनयुद्ध लडेका युवाहरुको नेकपा छ । नेपाली जनताहरुको व्यवस्था बनेको छैन् । हामीले चाहेको राज्य बनेको छैन् । हामीले बनाउनैपर्छ । जनताका बीचबाट पलायन हुने होईन । जनताको बीचमा बस्नुपर्छ ।’