काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले खर्बपति एलन मस्कमार्फत् नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । जनवरीदेखि कार्यभार सम्हाल्न लागेका राष्ट्रपति ट्रम्पलाई ओलीले मस्कसँगको भर्चुअल वार्तामार्फत् बधाई दिएको उनको सचिवालयले बताएको छ ।
‘ट्रम्पलाई जिताउन तपाईंको निर्णायक भूमिका रह्यो भन्ने मैले सुनेको छु,’ ओलीले मस्कलाई भनेको उद्धृत गर्दै उनका प्रेस संयोजक रामशरण बजगाईंले अनलाइनखबरलाई भने, ‘म ट्रम्पलाई तपाईंमार्फत् बधाई दिन चाहन्छु । नेपाल अमेरिकाबीचको सम्बन्ध अझै नयाँ उचाइमा पुग्ने मेरो विश्वास छ ।’
मस्कले ओलीलाई धन्यवाद दिएका थिए । मूलतः उनीहरुबीच अमेरिकी चुनावकै चर्चा भएको थियो ।
मस्कले स्टारलिंकबारे प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरेका थिए । उनले नेपालमा यसको प्रयोग भएमा प्राप्त हुन सक्ने सहुलियत र सुविधाबारे पनि बताएका थिए । मस्कलाई ओलीले कुनै औपचारिक प्रतिक्रिया नदिए पनि ध्यान दिएर सुनेको बजगाईंले बताएका छन् ।
प्रधानमन्त्री र मस्कबीच माइक्रोसफ्ट टिम्समार्फत ११ मिनेटजति कुराकानी भएको थियो ।
स्पेश एक्सका कम्पनीका मालिक समेत रहेका मस्कले नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टार लिंक सुरु गर्न इच्छा देखाइरहेका छन् । नेपालका विद्यमान नीति नियमअनुसार कम्पनीलाई नेपालमा आउन समस्या पर्नसक्ने भन्दै स्पेश एक्सका प्रतिनिधिले नेपालस्थित अमेरिकी दूतावासमार्फत् सहज रुपमा सेवा दिने वातावरण बनाउन पहल गर्दै आएका छन् ।
स्पेसएक्स अन्तरगतको स्टारलिंक स्याटेलाइटमा आधारित इन्टरनेट दिने कम्पनी हो । यो कम्पनीले स्याटेलाइटमार्फत सस्तोमा विश्वभरि नै इन्टरनेट सेवा दिने लक्ष्यसहित काम गरिरहेको छ ।
स्टारलिंकको प्रतिनिधिमण्डलले यसअघि प्रधानमन्त्री ओलीलाई नै भेटेर आफ्नो सेवाबारे प्रस्तुतीकरण (प्रिजेन्टेसन) र डेमो दिएको छ । स्टारलिंककी ग्लोबल लाइसेन्सिङ एन्ड मार्केटिङ डिरेक्टर रेबेका स्किल हन्टरसहितको टोलीले प्रधानमन्त्रीलाई भेटेर कम्पनीको सेवा, प्राविधिक पक्ष, बजार रणनीति, नेपाल प्रवेशको योजना र साइबर तथा तथ्यांकीय सुरक्षाका पक्षहरुमा विधि खाले प्रत्याभूति दिलाउने प्रयास गरेको थियो । स्रोतका अनुसार अमेरिकी टोलीले कसरी स्टारलिंकको इन्टरनेट सेवाले काम गर्छ र नेपाली भूगोलमा यसको महत्व के–के छन् भन्नेबारे प्रस्तुति दिएका थिए ।
मस्कलाई नेपाल भ्रमणको निम्तो
आजको कुराकानीको क्रममा प्रधानमन्त्री ओलीले मस्कलाई नेपाल भ्रमणको निम्तो समेत दिएका थिए । ओलीले सामाजिक सन्जाल एक्समार्फत् मस्कसँग कुरा गरेको र नेपाल भ्रमणमा आउन निम्तो दिएको जानकारी दिएका हुन् ।
प्रधानमन्त्रीको निम्तोमा मस्कले के प्रतिक्रिया दिए भन्ने विषय भने सार्वजनिक भइसकेको छैन ।
अमेरिकामा हालै निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई अमेरिकाको डिपार्टमेन्ट अफ गर्भर्मेन्ट एफिसियन्सीमा नियुक्त गर्ने घोषणा गरिसकेका छन् । उनले ट्रम्पलाई चुनावी अभियानमा २० करोड अमेरिकी डलर चन्दा दिएको विवरण समेत सार्वजनिक भएको थियो ।