प्रधानमन्त्रीको चीन भ्रमणअघि राजनीतिक दौडधुप

प्रधानमन्त्रीको चीन भ्रमणअघि राजनीतिक दौडधुप

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ गतेदेखि उत्तरी छिमेकी चीनको औपचारिक भ्रमण गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री ओलीको जारी चौथो कार्यकालको यो पहिलो औपचारिक विदेश भ्रमण पनि हो।

प्रधानमन्त्री ओलीलाई चीनले डिसेम्बर २ देखि पाँच दिने भ्रमणको निम्तो दिए पनि सरकारले भ्रमणको मिति औपचारिक रूपमा घोषणा भने गरिसकेको छैन। प्रधानमन्त्रीको चीन भ्रमणको तयारी जोडतोडले चलिरहेको छ। प्रधानमन्त्रीको चीन भ्रमणको तयारी भइरहँदा नेपालमा भने राजनीतिक र कूटनीतिक दौडधुप सुरु भएको छ।

प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता साझेदार दलको मुख्य घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संवाद बाक्लो बनेको छ। ओली र देउवाबीच सोमबार साँझ प्रधानमन्त्री निवाश बालुवाटारमा छलफल भएको थियो। प्रधानमन्त्री ओलीले चीन भ्रमणको बारेमा विभिन्न पक्षसँग छलफल चलाइरेका छन्।

चीन भ्रमणको बारेमा पार्टीमा छलफल गरेका ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति देउवा र नेपालमा काम गरिरहेका चिनियाँ कम्पनीका प्रमुखसँग समेत छलफल गरेका हुन्।

प्रधानमन्त्रीको आसन्न चीन भ्रमणअघि राजनीतिक मात्र नभई कूटनीतिक दौडधुप पनि तीव्र भएको छ। नेपालस्थित विदेशी नियोगका प्रतिनिधिहरूले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे विभिन्न चासो राख्दै अनौपचारिक संवाद थालेका छन्। कूटनीतिज्ञहरूले प्रधानमन्त्री र सत्तारूढ दलका नेताहरूसँग अनौपचारिक छलफलमा छन्।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तले सत्तारूढ दलको मुख्य घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। सभापति देउवा निवास बूढानीलकण्ठमा देउवा र श्रीवास्तवबीच लामो कुराकानी भएको स्रोतको दाबी छ। यद्यपि, उक्त भेटवार्तालाई सभापति देउवाको सचिवालयले सार्वजनिक गरेको छैन।

खासगरी प्रधानमन्त्रीको चीन भ्रमणअघि कूटनीतिज्ञहरूको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई)बारे चासो छ। २०१७ मा चीन र नेपालबीच बिआरआईको समझदारी पत्रमा हस्ताक्षर भएको थियो। प्रधानमन्त्री ओलीको चीन भ्रमणको एजेण्डाबारे गृहकार्य भइरहँदा चीनको महत्वाकांक्षी परियोजना ‘बिआरआई’बारे संशय कायमै छ।

अहिले सत्तामा रहेका प्रमुख दुई दल नेकपा एमाले र नेपाली कांग्रेसमध्ये एमाले बिआरआईलाई अघि बढाउने पक्षमा देखिन्छ भने कांग्रेसले बिआरआईलाई पूर्ण अनुदानमा रूपान्तरित गर्न माग गर्दै आएको छ। चीनले पनि प्रधानमन्त्री ओली भ्रमणको मुख्य एजेण्डा बिआरआईलाई नै बनाउन चाहन्छ। भ्रमणको क्रममा त्यसमा हस्ताक्षर गराएर कार्यान्वयनमा ल्याउने चाहना चीनको छ। चीनको तर्फबाट त्यसको तयारी पूरा भइसकेको छ। कूटनीतिज्ञहरूले पनि प्रधानमन्त्रीको आसन्न चीन भ्रमणअघि बिआरआई सम्झौताको विषयप्रति नै मुख्य चासो देखाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सरकारमा सहभागी मन्त्रीहरू परिवर्तनको विषयमा छलफल सुरु भएको छ। ओली र देउवाबीच सरकारका काम कारबाही, समसामयिक राजनीति र उपनिर्वाचनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

कांग्रेस एमाले गठबन्धनको सरकार बनेको चार महिना पुगेको छ। गत असार ३० मा सातबुँदे सहमतिको जगमा कांग्रेस एमाले गठबन्धनको सरकार बनेको हो। पछिल्लो समय केही मन्त्रीको काम चित्तबुझ्दो नरहेको भन्दै हटाउनुपर्ने आवाज उठिरहेको छ। यस्तोमा एमाले र कांग्रेसबाट सरकारमा रहेका केही मन्त्रीलाई बिदा गरेर नयाँलाई अवसर दिने तयारी भइरहेको छ।

आफूले विश्वास गरेकै मन्त्रीहरूको कार्यक्षमता गतिलो नभएपछि प्रधानमन्त्री ओली पनि असन्तुष्ट देखिएका छन्। सरकारको कामको आलोचना भइरहेको अवस्थामा कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीले कम्तीमा तीन-तीनजना मन्त्री फेर्ने गरी तयारी थालेको स्रोतको दाबी छ। दुईतिहाइ बहुमत नजिकको सरकारले देशको अर्थतन्त्रमा देखिएको समस्या समाधान गरेर आशा जगाउन नसक्दा चर्को आलोचना खेपिरहेको छ।