काठमाण्डौ : बिहीबार सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ । सुनको भाउ बिहीबार तोलाको ७६ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार तोलामा दुई सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ७५ हजार सात सय रुपैयाँ तोकिएको थियो ।
यस्तै चाँदीको भाउ बिहीबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको आठ सय ८० रुपैयाँ पुगेको छ । माघ महिनामा सुनको भाउ समग्रमा तोलामा एक हजार रुपैयाँले बढेको छ । गएको माघ १ गते तोलाको ७४ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको भाउ महिनाको अन्तिम दिन बुधबार तोलाको ७५ हजार सात सय रुपैयाँ पुगेको हो ।
गएको माघ १९ र २० गते सुनको भाउ बढेर तोलाको साढे ७६ हजार रुपैयाँ पुगेको थियो । यसअघि पुस २३ गते सुनको भाउ अहिलेसम्मकै महँगो साढे ७६ हजार रुपैयाँ पुगेको थियो । गएको माघ २० गतेपछि घटबढ हुँदै सुनको भाउ बुधबार तोलाको ७५ हजार सात सय रुपैयाँ पुगेको हो ।