महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले विकासमा राजनीति गर्न नहुने बताएका छन्। बुधबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले चुनावमा पार्टीको झण्डा लिएर उठेपनि विकासमा राजनीति गर्न नहुने धारणा राखेका हुन्।
‘चुनाव लड्दा हामी आ–आफ्नो पार्टीको झण्डा लिएर जान्छौँ।’ उनले भने, ‘चुनाव जितिसकेपछि विकासको मुद्दामा सबै मिलेर अगाडि बढ्नुपर्छ।’ उनले लोकतन्त्रको विकल्प अरु कुनै व्यवस्था हुन नसक्ने बताए। ‘लोकतन्त्रमा जनताका अधिकारहरुको सुरक्षा गर्ने,स्वतन्त्रता प्रदान गर्ने जनताको व्यवस्था हो।’ उनले भने,‘त्यसैले अहिलेको शासन व्यवस्थालाई हामीले सुदृढ गर्दै लग्नुपर्छ यसैमा जनताको विश्वास र भरोसा जगाउनुपर्छ, त्यसका लागि पनि स्थानीय सरकारको सबैभन्दा भुमिका महत्वपूर्ण छ।’
उनले स्थानीय सरकारले सहजढंगले जनतालाई सेवा प्रदान गर्नुपर्ने बताए। गृहमन्त्री लेखकले भने,‘सेवा प्रदान गर्दा जनतालाई सबैभन्दा माथि राखेर सेवा प्रदान गर्नुहोस्।’ उनले देशमा विधिको शासन कायम गर्न र विधिको शासन कायम गर्न सरकार पूर्ण रुपले लागि परेको बताए। ‘एमाले र कांग्रेस मिलेर सरकार बनेको छ।’ उनले भने,‘यो सरकार देशमा स्थिरताका र सुशासन कायम राख्नका लागि बनेको हो।’
उनले जनजिविकाको सवाल र मुलुकमा आर्थिक उन्नति गर्ने सवालमा सरकार क्रियाशिल भएर लागेको बताए। ‘एकै महिनामा परिणाम आउँदैन सरकारले गरेका कामको परिणाम आउन समय लाग्छ।’ उनले भने,‘हामी अत्यन्तै मेहनतका साथ काम गरिराखेका छौँ।’