स्थानीय तहको उपनिर्वाचनका लागि उत्साहजनक रूपमा उम्मेदवारी दर्ता

स्थानीय तहको उपनिर्वाचनका लागि उत्साहजनक रूपमा उम्मेदवारी दर्ता

काठमाडौं। आगामी मंसिर १६ गते उपनिर्वाचन हुने स्थानीय तहहरुमा उम्मेदवारको मनोनयन पत्र दर्ता गरिएको छ । विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा हुन लागेको उपनिर्वाचनका लागि मनोनयन पत्र दर्ता उत्साहप्रद रुपमा भएको निर्वाचन आयोगले जनाएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि २० जनाले उम्मेदवारी दिएका छन् ।

नेपाली कांग्रेसबाट कृष्णमान डंगोल, नेकपा एमालेबाट सुरेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्रबाट शिवशरण महर्जन, राप्रपाबाट ध्रुव महर्जन, जसपा नेपालबाट दिपक महर्जन (हनी) ले उम्मेद्वारी दर्ता गराएका छन् । यस्तै सरसफाइ अभियन्ता राजमान महर्जनले पनि उम्मेदवारी दिनुभएको छ । किर्तिपुर नगरपालिकाको वडानम्बर १ र वडा नम्बर ४ मा पनि उपनिर्वाचन हुँदैछ । यसैगरि रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा ५ जना र वडा नं. २ को वडाध्यक्षमा २ जनाले उम्मेदवारी दर्ता गराएका छन्। बर्दियाको ठाकुरबाबा नगरपालिका ४ नम्बर वडामा हुने स्थानीय तह उपनिर्वाचनका लागि ६ दलले मनोनयन दर्ता गराएका छन् । उम्मेदवारी दर्ता सकिएसँगै उम्मेदवारको सूची प्रकाशन गरिएको निर्वाचन आयोगले जनाएको छ ।

यसैगरी मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने आयोगले जनाएको छ । मङ्सिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने छन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

स्थानीय तह उपनिर्वाचनअन्तर्गत कोसी प्रदेशमा मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षसहित आठ पदका लागि उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख,काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख पदका लागि उपनिर्वाचन हुँदैछ ।

त्यसैगरी , मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष तथा दोलखाको गौरीशङ्कर गाउँपालिका, रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुने कार्यक्रम रहेको छ ।

उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् । उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ६ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ ।

आयोगमा दर्ता भएका र बाहिर रहेका केही साना दलले भने उपनिर्वाचन बहिष्कार गरेका छन् । केही भने तटस्थ बसेका छन् । यो उपनिर्वाचनलाई प्रमुख दल कांग्रेस, एमाले, माओवादी, रास्वपा लगायत दलहरूले जनमत परीक्षणको अवसरका रूपमा लिएका छन् । जसका कारण पनि यो उपनिनर्वाचनलाइ चासोका साथ हेरिएको छ ।