चितवन । जंगली बँदेल पालेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले माडी नगरपालिका–८ का दुई जनालाई पक्राउ गरेको हो ।
उनीहरूले अनुमति नलिएरै दुईवटा बँदेल पालेको सूचनाका आधारमा पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए । उनका अनुसार, वन्यजन्तु पाल्न वन्यजन्तु पालनपोषणसम्बन्धी कार्यविधिअनुसार विभागबाट अनुमति लिनुपर्नेमा अनुमति नलिई पालेको पाइएकाले पक्राउ गरिएको हो । व्यावसायिकरूपमा वन्यजन्तु पाल्न पनि अनुमति लिनुपर्ने उनले बताए ।
पक्राउ परेका दुवैलाई अवैधरूपमा वन्यजन्तु पालन गरेको अभियोगमा कारबाही हुने सूचना अधिकारी थापामगरले जानकारी दिए । अनुसन्धान भइरहेकाले पक्राउ परेकाहरूको नाम निकुञ्जले सार्वजनिक गरेको छैन ।