काठमाडौं । अर्घाखाँचीको शितगंगा नगरपालिका–६, सानाढुंगेका ५३ वर्षीय झन्द्रबहादुर गाहा र सोही ठाउँका ३५ वर्षीय तिलक रेग्मी मामा–भान्जा हुन् । मामा झन्द्र र भान्जा तिलकको घर केही दूरीको अन्तरमा छ । त्यही कारण झन्द्र र तिलक मामा–भान्जा भए पनि साथीजस्तै थिए ।
सामान्य घरायसी काममा व्यस्त रहने उनीहरू कहिलेकाहीँ रमाइलो गर्ने भन्दै सँगै मदिरा सेवन पनि गर्थे । मदिरा सेवन गर्न कहिले झन्द्र भान्जाको घर पुग्थे, कहिले तिलक मामाको घर । गएको मंगलबार साँझ ५ बजे भने झन्द्र एक्लैले मदिरा सेवन गरेर भान्जा तिलकलाई अनावश्यक गाली गर्न थाले । मामाले आफूलाई किन गाली गरे भन्नेबारे तिलक बेखबर थिए । गाली गर्नुपर्ने गरी उनीहरूबीच यसअघि कुनै विवाद भएको थिएन ।
त्यही कौतूहलले तिलक मामा झन्द्रको घरमै गएर भेट्ने निणर्यमा पुगे । झन्द्रले गाली गरेको आधा घण्टापछि तिलक उनको घर पुगे । आफू मामाको घर जान लागेको सूचना तिलकले श्रीमतीलाई पनि दिए । साढे ५ बजे मामाको घरतिर हिँडेका तिलक राति हुँदा समेत फर्किएनन् ।
तिलककी श्रीमतीलाई लाग्यो, मामाघर गएका श्रीमान् त्यतै बसे होलान् । त्यसैले उनी राति श्रीमान्को चिन्ता नलिई सुतिन् । तिलक बुधबार बिहान हुँदा समेत घर फर्किएनन् । श्रीमतीको मनमा चिसो पस्यो, श्रीमान् कता गए ?
श्रीमान्को खोजीका निम्ति मामाससुरा झन्द्रको घर पुगेर उनले सोधिन्, ‘‘तिलक कहाँ गयो मामा ? हिजो यतै जाने भनेर आएको हो, घर फर्किएन ।’’ मामा झन्द्रको मुखबाट सकारात्मक सन्देशको अपेक्षा थियो उनमा । तर, झन्द्रले जवाफ फर्काए, ‘‘हो, हिजो आएका थिए । साँझ नै फर्किएका हुन् । यता बस्नु भएन ।’’
तिलककी श्रीमती आत्तिइन् । कतै केही त भएन भन्ने चिन्ता मनमा गड्यो । उनी मामा झन्द्रको घरबाट फर्कन लाग्दा त्यहीँ आँगनमा ढुंगामा रगत लत्पतिएको देखिन् । तर, श्रीमान्को होला भन्ने शंका गरिनन् । उनी तिलक साथीको घर पो गए कि भनेर मनोजबहादुर गाहाको घर जाने बाटोतर्फ लागिन् ।बाटोमा समेत रगतका टाटाहरू देखिन् । श्रीमान्को खोजीका निम्ति हिँडेकी उनी बाटोभरि रगत देखिपछि चिन्तित बनिसकेकी थिइन् ।
रगतको टाटा देखिएको बाटो हुँदै हिँड्दा मनोजको घरनजिकैको अर्यान भीरपाखोमा तिलक ढलेको अवस्थामा देखिन् । दौडँदै उनी तिलक भएको ठाउँतिर पुगिन् । तिलकको शरीर छामिन् । सास फेरेको चाल पाइनन् । शरीर चिसो भइसकेको थियो ।
शरीरका विभिन्न भागबाट रगत बगेको थियो । त्यसपछि उनले प्रहरीलाई खबर गरिन् । प्रहरी टोलीले हत्याको आशंका गर्यो । अनुुसन्धान अघि बढायो । तिलककी श्रीमतीले खबर गरेको केही समयमै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट प्रहरी टोली घटनास्थल पुग्यो । उनको हत्या गरिएको भन्नेबारे निष्कर्ष निकाल्न प्रहरीलाई धेरै समय लागेन ।
प्रहरी टोलीले तिलककी श्रीमतीसँग थप जानकारी लियो । हत्या जघन्य देखिएपछि छिमेकीमाथि समेत सोधपुछ तीव्र पार्यो । प्रहरीले झन्द्रबहादुरलाई पनि केरकार गर्यो । सुरुमा झन्द्रले घटनामा आफ्नो संलग्नता इन्कार गरे । तर, घटनास्थलबाट प्रहरीले चप्पल बरामद गरेको थियो । चप्पल झन्द्रकै भएको खुलेको थियो ।
झन्द्रको हाफपाइन्टमा रगत पनि भेटिएपछि उनलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई पक्राउ गरेर अनुसन्धान गर्दा हत्या स्वीकार गरेका प्रहरीले जनाएको छ ।सामान्य विवादमा उनले तिलकका टाउकोमा ढुंगा प्रहार गरेर बेहोस बनाएको र पछि घाँटी थिचेर हत्या गरेको खुलेको छ ।
हत्यापछि करिब २०० मिटर पर घिसारेर फालेको खुलेको र थप अनुसन्धान जारी रहेको अर्घाखाँचीका प्रहरी प्रमुख एवं डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए ।