धरान । सुनसरीको झुम्का कारागारबाट २०६९ कात्तिक २३ गते राति सुरुङ खनेर फरार भएका कैदी चन्द्रशेखर भन्ने विनायक यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीवार राति जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका-८ स्थित पथरचट्टानबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिम्सिनाले बताए ।
हतियारसहित पक्राउ परेका इनरुवा निवासी यादवलाई प्रहरीले शुक्रबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ। फरार रहेका विनायक हतियारसहित उक्त स्थानमा रहेको छ भन्ने सूचनाको आधारमा प्रहरीले चारैतिरबाट घेरा हाली पक्राउ गरिएको एसपी तिमल्सिनाले बताए ।
हतिहारसहित रहेका विनायकलाई पक्राउ गर्न प्रहरीले एक राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले बताए । २०६५ वैशाख १६ गते सुनसरीको प्रकासपुरका केशव कार्कीलाई गोली हानी हत्य गरेको अभियोगमा विनायक झुम्का कारागारमा कैद भुक्तान गरिरहेका कैदी हुन्। उनीसहित अन्य ११ जनाले झुम्का कारागारको दक्षिणपट्टिको पर्खालको भित्री भागबाट सुरुङ खनेर फरार भएका थिए । उनीहरूलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको थिएन ।
पक्राउ परेका विनायकको साथबाट सिक्सर रिभोल्भर पेस्तोल एकथान र १२ थान गोली बरामद गरिएको डिएसपी तिमल्सिनाले बताएका छन् । उनले पक्राउ परेका विनायकलाई जिल्ला अदालत सुनसरीमा बुझाइ पुन कारागार चलान गरिने बताए ।