उपनिर्वाचनमा केन्द्रित राजनीतिक दल

उपनिर्वाचनमा केन्द्रित राजनीतिक दल

काठमाडौं। चाडबाड सकिएसँगै राजनीतिक दलहरू मंसिर १६ गते हुने स्थानीय तह निर्वाचनको तयारीमा जुटेका छन्। दलहरूले स्थानीय तह उपनिर्वाचनमा उम्मेदवार चयनको गृहकार्य सुरु गरेका छन्। प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रसहितका दलहरू स्थानीय तहको उपनिर्वाचनको उम्मेदवार छनोटको तयारी थालेका हुन् ।

स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन र वडा अध्यक्ष नौ तथा नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडा अध्यक्ष २१ गरी जम्मा ४४ रिक्त पदमा मंसिर १६ मा उपनिर्वाचन हुँदै छ।

स्थानीय तहका खालि ठाउँमा हुने उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ। दलहरूले उम्मेदवार सिफारिश र छान्न स्थानीय तह, जिल्ला र प्रदेशलाई जिम्मेवारी दिएका छन्।

वडाध्यक्षको उम्मेदवार जिल्ला र पालिकाको उम्मेदवार प्रदेशले टुंग्याउने जिम्मेवारी दिएका हुन्। सत्ता साझेदार नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजक रहेको उपनिर्वाचन संयोजन समिति गठन गरेको छ। कात्तिक १४ गते गठन भएको समितिमा सह-महामन्त्रीहरू सदस्य छन्।

नेकपा एमालेले यसअघि नै उम्मेदवार सिफारिशको लागि मातहतका कमिटीलाई निर्देशन दिइसकेको छ। एमालेले कात्तिक २० सम्म पालिका प्रमुख र उपप्रमुख तथा कात्तिक १५ मा वडा अध्यक्ष र सदस्यका उम्मेदवारको नाम सिफारिश गर्न प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको जानकारी दिँदै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘प्रदेश र जिल्ला कमिटीले सिफारिश गरेका उम्मेदवार तिहारलगत्तै टुंगो लगाई निर्वाचन अभियान सुरु गरिनेछ । त्यसअघि स्थानीयस्तरमा चुनावी अभियान जारी छ।’

माओवादी केन्द्रले कात्तिक २५ सम्ममा उम्मेदवार नामवाली केन्द्रमा पठाउन निर्देशन दिएको छ। नेकपा माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘२५ गतेभित्र उम्मेदवार छानेर नामावली पठाउन निर्देशन दिएका छौं। वडाको उम्मेदवार जिल्लाले र पालिकाको उम्मेदवार प्रदेशले टुंग्याउनेछ।’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपनिर्वाचन पनि उपनिर्वाचन संयोजन समिति बनाएको छ । एकीकृत समाजवादीले पनि यही साताभित्र उम्मेदवार टुंग्याउने तयारी गरेको छ । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले उपनिर्वाचनका लागि कमाण्डर तोकेको छ।

नेपाली कांग्रेसले मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा गठबन्धन नगर्ने भएको छ । महासमिति बैठक र केन्द्रीय समितिको निर्णयअनुसार कांग्रेसले निर्वाचनमा गठबन्धन नगरी एक्लै प्रतिस्पर्धामा उत्रन लागेको हो।

महामन्त्री गगन थापाले महासमितिमा पेस गरेको आवधिक निर्वाचनहरूमा आफ्नै तागतमा एक्लै लड्ने र मतदातालाई रूख चुनावी चिहृनमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने भन्ने प्रस्तावलाई गत भदौको केन्द्रीय समितिले अनुमोदन गरेसँगै गठबन्धन नगरी एक्लै चुनाव लड्ने नीति कांग्रेसले लिएको थियो ।

२०७९ मा भएको स्थानीय तह चुनावमा कांग्रेसले स्थानीय आवश्यकताअनुसार तालमेल गर्न सक्ने नीति लिएको थियो । त्यसबेला कांग्रेसले तत्कालीन सत्ता गठबन्धनमा रहेका दलहरूसँग पद बाँडफाँट गरेर चुनाव लडेको थियो ।

त्यसबेला कांग्रेसले जितेका अधिकांश ठाउँमा यसपालि उपनिर्वाचन हुन लागेको हो । महामन्त्रीसमेत रहेका स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक विश्वप्रकाश शर्माले उपनिर्वाचन एक्लै लड्ने पार्टीको निर्णय रहेको जानकारी दिँदै भने, ‘हामी उपनिर्वाचनमा गठबन्धन गर्दैनौँ, कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रन्छ ।’

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। स्थानीय तह उपनिर्वाचनको तयारी र उम्मेदवारीलाई अन्तिम रूप दिन एमालेले कात्तिक २४ गते बिहान ११ बजे सचिवालय बैठक बोलाएको हो ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा स्थानीय उपनिर्वाचनको तयारीबारे छलफल हुनेछ। पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘सर्वसम्मत उम्मेदवार सिफारिश भइरहेका छन् । कात्तिक २२ गतेसम्म यो सिफारिश प्रक्रिया टुंगिन्छ। नगरपालिका र गाउँपालिकाको वडाध्यक्षको उम्मेदवार सम्बन्धित पालिका तहको कमिटीको सिफारिशमा जिल्लाले नै टुंग्याउने छ । निर्वाचनको तयारीबारे सचिवालयको बैठकबाट निर्णय हुन्छ।’

उपनिर्वाचन हुने स्थानीय तहमध्ये कीर्तिपुर नगरपालिका चर्चाको केन्द्रमा छ । मुलुकको राजधानी काठमाडौंमा रहेको र ऐतिहासिक महत्व बोकेको कारण पनि कीर्तिपुर नगरपालिकाको उपनिर्वाचन चर्चामा रहेको हो ।

कांग्रेसबाट निर्वाचन मेयर राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुर नगरपालिकाको मेयरको लागि उपनिर्वाचन हुन लागेको हो । कांग्रेसको कीर्तिपुर नगर समितिले १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि आकांक्षी ११ जनाको नाम क्षेत्रीय समितिमा सिफारिश गरेको छ ।

नगर समिति सभापति कृष्णमान डंगोललाई पहिलो नम्बरमा राखेर नाम पठाइएको छ । दोस्रो नम्बरमा बद्रीलाल महर्जन, तेस्रो नम्बरमा हिमाल कार्की, चौथोमा जमुना नकर्मी, पाँचौँ नम्बरमा संगीता बोगटीको नाम पठाइएको छ । थप सिफारिश भएकामा शशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी, र सचिन्द्र महर्जनको नाम पठाइएको छ ।

नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयरमा सुरेन्द्र मानन्धरको उम्मेदवारी घोषणा गरेको छ । एमालेको कीर्तिपुर नगरपालिका कमिटीले मानन्धरको नाम सर्वसम्मत सिफारिश गरेको हो । कीर्तिपुर वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जनलाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ ।

राप्रपाले इञ्जिनियर धु्रव महर्जनलाई मेयर पदमा उम्मेदवार घोषणा गरिसकेको छ । नेकपा माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा प्राडा शिवशरण महर्जनलाई उम्मेदवार तय गरेको छ ।

पार्टीका उपाध्यक्ष एवं बागमती प्रदेशका इञ्जार्ज अग्निप्रसाद सापकोटाको उपस्थितिमा महर्जनलाई सर्वसम्मतले उम्मेदवार चयन गरेको हो । कीर्तिपुरमा मेयर र दुई वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ । माओवादीले वडा नम्बर १ मा अष्टमान महर्जन र वडा नम्बर ४ मा नारायण विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

आगामी मंसिर १६ गते स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले ४४ पदमा हुने उपनिर्वाचनका लागि तयारी तीव्र गतिमा भइरहेको जनाएको छ । यसअघि स्थानीय तहका ३९ पदमा उपनिर्वाचन हुने भनिए पनि थप पाँच पद रिक्त हुन पुगेपछि ४४ पुगेको आयोगले जनाएको हो ।

ताप्लेजुङको सिरिजंघा गाउँपालिका वडा नम्बर ३ का अध्यक्षले राजीनामा दिएसँगै आयोगको कात्तिक ११ गतेको निर्णयबाट उपनिर्वाचन गर्ने निर्णय भएको छ । सोही मितिमा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा पनि अध्यक्ष पदमा उपनिर्वाचन गर्ने निर्णय भएको छ । सो वडाका अध्यक्षको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

यसैगरी, कपिलवस्तुको शुद्धोदन गाउँपालिका वडा नम्बर १ मा अध्यक्ष, रुकुम (पूर्व) स्थित पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष र सोही गाउँपालिकाको वडा नम्बर २ को अध्यक्ष पदमा पनि उपनिर्वाचन हुने भएको छ । ती स्थानीय तहका जनप्रतिनिधिको निधन भएपछि कात्तिक १ गतेको निर्णयबाट उपनिर्वाचन हुने पद थप गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार कोशी प्रदेशमा नौ, मधेश प्रदेशमा सात, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा एक, लुम्बिनी प्रदेशमा ६, कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिममा ६ पदमा निर्वाचन हुन लागेको हो ।

मोरङको रामग्राम नगरपालिकामा अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष, काठमाडौंको कीर्तिपुर नगरपालिकामा प्रमुख, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष, दैलेखको महाबु गाउँपालिकामा अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख, हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष, बाजुराको स्वामी कात्तिक खापर गाउँपालिकामा उपाध्यक्ष, कैलालीमा जिल्ला समन्वय समिति प्रमुख पदमा उपनिर्वाचन हुँदै छ । यसबाहेक अन्य स्थानमा वडाध्यक्ष र सदस्य पदमा उपनिर्वाचन हुने आयोगको भनाइ छ।