तिहारका बेला लुक्लामा २ दिनदेखि उडान अवरुद्ध

तिहारका बेला लुक्लामा २ दिनदेखि उडान अवरुद्ध

रामेछाप । रामेछापको मन्थली विमानस्थलबाट लुक्ला तर्फ जाने जहाजहरू दुई  दिनदेखि नियमित उडान हुन नसक्दा पर्यटकहरू अलपत्र परेका छन् ।

लुक्लामा मौसम बिग्रीएपछि विगत २ दिनदेखि नियमित उडान हुन नसक्दा  विभिन्न देशबाट घुम्नका लागि लुक्ला जान लागेका पर्यटकहरू मन्थली विमानस्थलमा अलपत्र परेर बसेका हुन् । काठमाण्डौंबाट स्थल मार्ग हुँदै जहाज चढ्नका लागि पर्यटकहरू मन्थली विमानस्थल आउने गरेका छन् ।

लुक्ला क्षेत्रको मौसम खराब भएका कारण बिहीबार र शुक्रवार उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण रामेछापका प्रमुख हिरण साहले बताए । मौसम सफा हुँदा मन्थलीबाट लुक्लाका लागि दैनिक ६० भन्दा बढी उडानहरु हुने गरेका छन् । तर विगत दुई दिनदेखि खराब मौसमका कारण जहाजका कुनै पनि उडान हुन नसकेको नागरिक उड्डयन कार्यालय मन्थलीले जनाएको छ ।

मन्थलीबाट सिता एयर, समिट एयर र तारा एयरले लुक्लाको लागि उडान गर्दै आएका छन् । लुक्ला मा मौसम खराब भएका कारण दुई  दिन देखी जहाज उड्न नसक्दा आफूहरू समस्यामा परेको पर्यटकहरूले बताएका छन् । मौसम खुला हुना साथ केही हेलिकप्टरले पर्यटकलाई ओसार्ने गरेको  भए पनि जहाजहरूको नियमित उडान नभएका कारण निश्चित समयका लागि नेपाल घुम्न आएका पर्यटकहरूलाई समस्या भएको छ ।

जहाजको उडान अवरुद्ध भएपछि शुक्रवार मात्र हेलिकप्टरको १४ उडान भएको नागरिक उड्डयन कार्यालय रामेछापका प्रमुख हिरण साहले जानकारी दिए ।

विगत दुई दिनदेखि जहाजको उडान हुन  नसकेपछि मन्थली विमानस्थलमा अहिले करिब ४ सय विदेशी पर्यटकहरु तथा तिहारमा घर जान चाहेका नागरिक उडानको पर्खाइमा रहेका छन् ।