‘सिस्नुपानी’ ले पोलेपछि छट्पटिए प्रधानमन्त्री ओली !

‘सिस्नुपानी’ ले पोलेपछि छट्पटिए प्रधानमन्त्री ओली !

काठमाडौं। सिस्नुपानी नेपालको देउसीभैलो कार्यक्रमलाई लिएर नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका छन्।

व्यवसायी मिनबहादुर गुरुङले एमालेलाई दिएको १० रोपनी १४ आना दाने जग्गाको विषयलाई लिएर एमाले र सरकारलाई व्यङ्ग्य गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्। हिजो (बिहीबार) प्रज्ञा प्रतिष्ठान कमलादीमा सिस्नुपानी नेपालले देउसीभैलो कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा प्रधानमन्त्री ओलीसहित विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।


सिस्नुपानी नेपालले सन्तुलन मिलाएर व्यङ्ग्य नगरेको भन्दै उनले असन्तुष्टिसमेत पोखे । एमालेलाई व्यवसायी गुरुङले दिएको उक्त दाने जग्गा प्रथम दृष्टिमै गलत रहेको भन्दै सर्वोच्च अदालतले समेत दान हस्तान्तरणको काम अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेशसमेत जारी गरिसकेको छ । अदालतले प्रथम दृष्टिमै गलत रहेको भनिसकेको विषयमा व्यङ्ग्य गरिएकोप्रति पनि प्रधानमन्त्री ओलीको असन्तुष्टि थियो ।

सबै दलको कार्यालय बनाउन व्यवसायीहरुले दान दिएको स्मरण गराउँदै उनले भने, ‘अरु कुन पार्टी छ त्यस्तो जो बिना चन्दा पार्टी कार्यालय बनाएको छ ? कोही एक दुई जनाको चन्दाले बनेका होलान, कोही आठ १० जनाको चन्दाले बनेका होलान् ? त्यो पनि पहिलो दृष्टिमा नै गलत छ भनेर अदालतले भनिसकेपछि त सकियो त । किन व्यग्य गरिरहनुपर्यो ?’