काठमाडौं। नेपाली महिला फुटबलकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाले साफको फाइनलको हार बिर्सिन लामो समय लाग्ने टिप्पणी गरेकी छन्।
सामाजिक सञ्जालमा एक पोष्ट गर्दै साम्बाले साफको फाइनलमा फेरि एक पटक उपविजेतामा सीमित हुँदा दुख लागेको टिप्पणी गर्दै यो हार बिर्सिन धेरै समय लाग्ने बताएकी हुन्।
उनले आम दर्शकले देखाएको साथ र सहयोगप्रति सधैं ऋणी रहेको उल्लेख गर्दै अर्को पटक उपाधि दिलाउने विश्वास व्यक्त गरेकी छन्।
उनले भनेकी छन्-
साफ महिला च्याम्पियनसिपमा पुन: एकपटक उपविजेतामा सिमित हुँदा निकै दुख लागेको छ । यो हार बिर्सन धेरै समय लाग्नेछ । यो हामी दोस्रो भएको भन्दापनि योग्य रहेको ट्रफी जित्न नसकेको भन्ने बुझेको छु । यहाँहरुको साथ र सहयोगका लागि सदा ऋणी रहनेछु । आशा छ, यो विश्वासलाई अर्कोपटक उपाधिका साथ न्याय दिन सक्नेछु । आज नै आफ्नो व्यावसायिक यात्राका लागि फ्रान्स प्रस्थान गर्दैछु । यहाँहरुले नेपालमा हुने महिला फुटबल गतिविधिलाई अझ सहयोग गरेर थप बलियो बनाउन सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ ।
साम्बा व्यावसायिक फुटबल खेल्न विहिबार बिहान नै पेरिसतर्फ लागेकी छन् । उनी फ्रान्सको ए डिभिजन महिला लिग क्लब एन अभान्ट गुइनगाम्पबाट खेल्ने गर्दछिन् ।