समस्याग्रस्त सहकारीमा ४० अर्बको माग दाबी, डेढ अर्ब फिर्ता

समस्याग्रस्त सहकारीमा ४० अर्बको माग दाबी, डेढ अर्ब फिर्ता

काठमाडाैं। समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले हालसम्म ६ हजार १ सय ५५ बचतकर्ताको सत प्रतिशत बचत फिर्ता भएको जनाएको छ।

मंगलबार काठमाडौंमा समितिले आयोजना गरेको समस्याग्रस्त सहकारीमा रहेका बचतकर्ताको बचत फिर्ताको कार्यक्रममा भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले समस्याग्रस्त सहकारीबाट हालसम्म ६ हजार १ सय ५५ बचतकर्ताको १ अर्व ४८ करोड ५१ लाख ३७ हजार रुपैया फिर्ता गरिएको जानकारी दिए।

त्यस्तै आंशिक रुपमा हालसम्म ४ सय ३८ बचतकर्ताको ३ करोड भन्दा बढी रकम फिर्ता गरिएको छ। संकटग्रस्त सहकारीका ५६ हजार ६ सय ५ बचतकर्ताको ३८ अर्व ४२ करोड ३ लाख २९ हजार ८ सय ११ रुपैया बचतफिर्ता गर्न बाँकी रहेको मन्त्री अधिकारीले बताए।

उनले संकटग्रस्त सहकारीमा भएको सम्पती बिक्री, लिलाम वा साटासाट गरेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्ने र सहकारीबाट ऋण लिएर नतिर्नेहरुको सम्पत्ति लिलाम गर्ने निर्णय भएको जनाए।

उनले केही सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गर्नका लागि प्रक्रिया सुरु भइसकेको जिकिर गरे। मन्त्री अधिकारीले हाल सम्पती व्यवस्थापन तथा दायित्व भुक्तानी हुन बाँकी सहकारीहरु १९ वटा रहेको र बाँकी छुट मागदावीकर्तालाई बचत फिर्ता गरि राफसाफ गरिएको सहकारीको संख्या ३ रहेको जानकारी दिए।

मन्त्री अधिकारीले चालू आर्थिक मसान्तसम्म थप ९ सहकारी संस्था राफसाफ गर्ने लक्ष्य लिइएको बताए। त्यस्तै १३ हजार ७५ ऋणी सदस्यहरुबाट २३ अर्व ६२ करोड ९६ लाख ५८ हजार ७ सय ९४ रुपैयाँ असुलीतर्फ अन्तिम कारवाहीको प्रक्रिया अघि बढाउने योजना रहेको उनले बताए। कार्यक्रममा समस्याग्रस्त केहि सहकारीका बचतकर्तालाई बचतरकम फिर्ता गरिएको थियो।