काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पशुपति धर्मशाला विवाद छिट्टै समाधान हुने बताएका छन् ।
मन्त्रालय सम्हालेको १०० दिनमा भएका कामबारे जानकारी दिन बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेका मन्त्री पाण्डेले धर्मशाला विवादबारे कानूनी र शान्तिपूर्ण समाधान खोज्ने गरी अध्ययन समिति गठन गरेको बताए ।
समितिले दिने प्रतिवेदनका आधारमा पशुपति धर्मशाला विवाद छिट्टै समाधान हुने उनको भनाइ छ । उनले पशुपति क्षेत्र विकास कोषले मन्त्रालयलाई नै जानकारी नदिई धर्मशाला सञ्चालनको व्यवस्थापनको जिम्मा काठमाडौं महानगरलाई दिएको पनि उल्लेख गरे । उनले मारबाडी सेवा समिति अदालत गएकाले अदालतको आदेशलाई पनि सम्मान गर्दै अघि बढ्ने स्पष्ट पारे ।
अर्को प्रसंगमा उनले नेपाल वायुसेवा निगमलाई बलियो बनाउन अध्ययन भइरहेको र निगमलाई चुस्त, व्यवस्थित र प्रभावकारी बनाउने जिकिर गरे । निगम सञ्चालनका लागि कानूनी वा नीतिगत कमजोरीका साथै प्रशासनिक कमजोरीलाई पनि समाधान गर्ने उनले बताए ।
उनले आफ्नो सय दिनको कार्यकालमा नेपालको नागरिक उड्डयन क्षेत्रलाई सुरक्षित र विश्वसनीय बनाउन काम सुरु गरेको दाबी गरे । हवाई क्षेत्र सुधारका लागि उच्चस्तरीय सुझाव समिति गठन भएको, गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थलबाट नियमितरूपमा अन्तर्राष्ट्रिय उडान गराउन आवश्यक सहुलियतको व्यवस्था गरिएको उनको भनाइ छ ।
त्यस्तै, पर्यटन, संस्कृति तथा नागरिक उड्ययन क्षेत्रको समग्र सुधारका लागि आवश्यक कानूनी व्यवस्थाप्रति मन्त्रालयको विशेष ध्यान केन्द्रित भएको मन्त्री पाण्डेले बताए ।