जग्गासम्बन्धी विवादमा कुटपिट गरी एक जनाको  हत्या

जग्गासम्बन्धी विवादमा कुटपिट गरी एक जनाको  हत्या

झापा । झापाको दमकमा जग्गासम्बन्धी विवादको क्रममा कुटपिट गरी एक जनाको हत्या गरिएको छ । दमक नगरपालिका–९ निवासी ३२ वर्षीय देशु भनिने यामु निरौलाको कुटपिट गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

घटनामा संलग्न भएका व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।  मंगलबार दिउँसो अन्दाजी ४ बजेको समयमा दमक–३ स्थित दमक–मधुमल्ला सडक खण्डको मावा खोलाको पुलमा निरौलाको हत्या भएको थियो । 

निरौलालाई भुइँमा लडिरहेको देखेर स्थानीयले उपचारको लागि तत्काल आम्दा अस्पताल दमक पुर्‍याउन साथ डाक्टरले मृत घोषित गरेका थिए ।  दुई जनाले निरौलालाई लात्ती तथा मुड्की प्रहार गरी हत्या गरेको सिसिटिभी फुटेजमा देखिएको डीएसपी चन्दले बताए । उनीहरूको पहिचान भने खुलेको छैन । 

प्रारम्भिक अनुसन्धानको क्रममा घटना जग्गा विवादकै कारण भएको हो । ‘जग्गा कसको र किन विवाद भएको बारेमा अझै खुल्न बाँकी छ,’ उनले भने । निरौलाको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमको लागि दमक अस्पताल पठाइएको छ ।