सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सेनाको आपत्कालीन उद्धारका लागि योजना बन्दैछः प्रधानसेनापति सिग्देल

सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सेनाको आपत्कालीन उद्धारका लागि योजना बन्दैछः प्रधानसेनापति सिग्देल

काठमाडौं। प्रधानसेनापति अशोकराज सिग्देलले सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सैनिकको आपत्कालीन उद्धारका आवश्यक योजना तयार गरिरहेको बताएका छन्।

.
आइतबार रक्षा मन्त्रालयमा भएको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सिरिया र लेबनामा अहिले युद्ध चर्किरहेको र नेपाली शान्ति सेनाहरू अवस्थित रहेको भन्दै उनीहरूलाई आपत्कालीन उद्धार आवश्यक भएको खण्डमा उद्धारका लागि आपत्कालीन योजना नेपाली सेना र रक्षा मन्त्रालयको समन्वयमा बनाइरहेको बताए। उनले इजरायल र लेबनानमा अहिले चरम पन्थी समूह हिजबुल्लाहबीच युद्ध जारी छ। संयुक्त राष्ट्रसंघको शान्ति मिसन (युनिफिल) अन्तर्गत लेबनानमा खटिएका नेपाली शान्ति सैनिक केही असहज अवस्थामा रहेको भए पनि सुरक्षित रहेको बताए।

उनले भने, ‘५२ जना सिरियामा छन्। १३२९ जनाको फौज शान्ति सेनामा छ। १३२९ जनामध्ये अहिले अलिकति अप्ठ्यारो स्थितिमा रहेका सैनिकहरू भनेको केही मात्रै छन् । उनीहरूको अवस्थाको हकमा सुरक्षाको दृष्टिकोणले हेर्ने हो भने लडाइँ भइरहेको ठाउँ हो । उनीहरू द्वन्द्वको बिचमा छन् । गोली हानाहान भइरहेको क्षेत्रमा छन् । सामान्य अवस्थाको भन्दा सुरक्षाको स्थिति अलिकति असहज छ । तर त्यो असहज स्थितिमा पनि उनीहरू पूर्णतया सुरक्षित छन् । बङ्करहरूमा बसेका छन् । कथंकदाचित धेरै ठुलै खालको स्थिति आयो भने त्यस्तो परिस्थितिमा के गर्ने भन्नेमा हेर्डक्वार्टरले त्यसको योजना बनाउँदै छ । नेपाली सेना र रक्षा मन्त्रालयको समन्वयमा त्यस्तो अवस्थामा त्यहाँ तैनाथ फौजलाई कसरी नेपाल ल्याउने र सुरक्षित स्थानमा लैजाने भन्ने योजना तयार गरेका छौँ । हामी त्यहाँ रहेका नेपाली सेनासँग प्रत्यक्ष सम्पर्कमा छौँ । हाम्रो फौजलाई अप्ठ्यारो पार्ने सम्भावना धेरै कम छ।’

उनले शान्ति सेनामा रहेका नेपाली सैनिकलाई अप्ठ्यारो पार्ने सम्भावना भने कम रहेको दाबी गरे।