साफ महिला च्याम्पियनसिप : श्रीलंकामाथि भुटानको फराकिलो जित

साफ महिला च्याम्पियनसिप : श्रीलंकामाथि भुटानको फराकिलो जित

काठमाडौं । श्रीलंकाविरुद्ध ४–१ को जितसँगै भुटानले साफ महिला च्याम्पियनसिप–२०२४ को सेमिफाइनल सम्भावना बलियो बनाएको छ । 

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भुटानलाई जित दिलाउन देकी ल्हाजोमले दुई गोल गरिन् । नाम्गेल देमा र दोर्जी एदोनले एक गोल गरिन् । श्रीलंकाकी थुशानी मदुसीकाले एक गोल फर्काइन् ।

खेलको सातौँ मिनेटमा ल्हाजोमले गोल गर्दै भुटानलाई अग्रतामा राखेकी थिइन् । २३औँ मिनेटमा गोल गर्दै  मदुसीकाको गोलमा श्रीलंका खेलमा फर्किएको थियो ।  तर, ३२औँ मिनेटमा नाम्गेलले गोल गर्दै भुटानलाई पुनः २–१ को अग्रतामा राखिन् । भुटानले दोस्रो हाफमा दुई गोल थप्यो ।

७६औँ मिनेटमा ल्हाजोमले व्यक्तिगत दोस्रो गोल गर्दै भुटानलाई ३–१ को अग्रतामा राखिन् । त्यसको तीन मिनेटपछि नै भुटानले चौथो गोल थप्यो । भुटानकी दोर्जी एदोनले टिमका लागि चौथो गोल गरिन् ।

जितसँगै दुई खेलबाट चार अंक जोडेको भुटान समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ । भुटानले यसअघि पहिलो खेलमा घरेलु टिम नेपाललाई गोलरहीत बराबरीमा रोकेको थियो । अब भुटानले समूह चरणको अन्तिम खेलमा माल्दिभ्सविरुद्ध खेल्नेछ ।

समान खेलबाट तीन अंक जोडेको श्रीलंका तालिकाको दोस्रो स्थानमा छ । श्रीलंकाले यसअघि माल्दिभ्सविरुद्ध १–० को जित निकालेको थियो । माल्दिभ्सले अब समूह चरणको अन्तिम खेलमा घरेलु टिम नेपालसँग खेल्ने तालिका छ । प्रतियोगितामा आजको दोस्रो खेलमा नेपालले माल्दिभ्सविरुद्ध खेल्ने तालिका छ । दशरथ रंगशालमा हुने यो खेल अपराह्न ५ः३० बजेदेखि सुरु हुनेछ ।