बालिकालाई बन्धक बनाइ आफ्नै घरमा यौनधन्दा चलाएको आरोपमा महिला पक्राउ

बालिकालाई बन्धक बनाइ आफ्नै घरमा यौनधन्दा चलाएको आरोपमा महिला पक्राउ

काठमाडौं । बालिकालाई जबर्जस्ती यौन कार्यमा लगाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। प्रहरीले नुवाकोट तादी गाउँपालिका-३ की हाल कागेश्वरी मनोहरा नगरपालिका –४ मुलपानी बस्ने ४३ वर्षीया सीता गोतामेलाई पक्राउ  गरेको हो।

मानव बेचविखन अनुसन्धान ब्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्रले बालिका तथा युवतीहरूलाई जबरजस्ती यौनधन्दामा लगाउने गरेको पाइएपछि गोतामेलाई पक्राउ गरिएको बताए।

उनीविरुद्ध मानव वेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कार्त्तिक २ गते सीताको घरबाट प्रहरीले ४ जना बालिका तथा युवतीको उद्दार गरेको थियो। पक्राउ परेकी सीताले बालिकालाई भाडा माझ्ने ,सरसफाइको काममा लगाउने र मासिक २० हजार रुपैयाँ दिने भनेर आफ्नै घरमा राखेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ। 

पीडित बालिकाको घरको कमजोर आर्थिक अवस्थाको फाइदा उठाइ,आर्थिक प्रलोभनमा पारी वेश्यावृत्तिको काममा लगाउने र शारीरिक सम्पर्क राखेको १  हजारदेखि ३ हजार रुपैयाँसम्म लिने गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

उनले बालिका तथा अन्य युवतीहरूलाई प्रयोग गरी पुरूष ग्राहकहरूलाई घरमै बोलाएर यौनधन्दा चलाउने गरेको पाइएको छ।