रविलाई पक्राउ गर्ने तयारीविरुद्ध रास्वपाले बोलायो आकस्मिक भेला, तत्काल पार्टी कार्यालय आउन आह्वान

रविलाई पक्राउ गर्ने तयारीविरुद्ध रास्वपाले बोलायो आकस्मिक भेला, तत्काल पार्टी कार्यालय आउन आह्वान

काठमाडौं । सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जि जारी गर्ने चर्चासँगै राष्ट्रिय स्वतन्त्र पार्टीको हेडक्वार्टरमा सरगर्मी बढेको छ । रास्वपाका नेता कार्यकर्ताहरु कार्यालयमा भेला हुन थालेका छन् ।

जिल्ला अदालत कास्कीले आजै लामिछानेमाथि पक्राउ पूर्जी जारी गर्न सक्ने आँकलन रास्वपाका नेताहरुको छ । पक्राउ पूर्जी जारी भएमा कसरी सामना गर्ने भन्ने विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए । काठमाडौंदेखि पोखरासम्म नै प्रदर्शन गर्ने तयारी गरिएको छ ।

रास्वपाको कार्यलयमा उपाध्यक्षद्वय स्वर्णिम वाग्ले र  डिपी अर्यालसहित प्रमुख नेताहरु उपस्थित छन् । लामिछानेकी पत्नी निकिता पौडेल पनि  केहीबेरअघि पार्टी कार्यालय प्रवेश गरेकी थिइन् । नेताहरु आउने क्रम जारी छ ।

रास्वपाकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले अन्त्य जरुरी सूचना भन्दै फेसबुकमा पोस्ट गरेकी छन् । उनले लेखेकी छन्, ‘काठमाडौंमा हुने रास्वपाका मित्रहरु चाँडोभन्दा चाँडो केन्द्रीय कार्यालयमा भेला भइदिनु होला । साथै ७७ जिल्लाबाटै रास्वपा टीम तयारी अवस्थामा रहनुहोला ।’

ती नेताका अनुसार रविलाई पक्राउ पूर्जी लिएर प्रहरी आए भने उनी जान तयार हुनेछन् । उनलाई नेता र कार्यकर्ताहरुको समूहले पछ्याएर पोखरासम्म ल्याउने तयारी छ ।  यद्यपि, आजै रविविरुद्ध पक्राउ पूर्जी जारी हुन्छ या हुँदैन भन्न सकिने अवस्था छैन ।