रविलाई पक्राउ गर्न लागिएकोबारे के भन्यो रास्वपाले ?

रविलाई पक्राउ गर्न लागिएकोबारे के भन्यो रास्वपाले ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको चर्चाबारे विपक्षी दलको वैठकमा छलफल भएको छ । रास्वपा नेताहरुले राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गर्न खोजिएको गुनासो गरेका थिए ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै रास्वपा नेता विराजभक्त श्रेष्ठले निस्पक्ष अनुसन्धानलाई सघाउन सभापति लामिछाने तयार भए पनि पूर्वाग्रही व्यवाहार स्वीकार्य नहुने बताए ।

उनले भने, ‘निष्पक्ष अनुसन्धानमा सहयोग गर्न तयार छु भनेर सभापतिज्यूले नै भन्नुभएको छ । उहाँहरू चाहीँ कतिखेर समात्दा ठीक हुन्छ भनेर बाजे देखाउन गएको जस्तो लागेको छ । यस्तै टाइम पार्ने हो उहाँहरूले । हामी फेस गर्न तयार छौं ।’

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पनि सहकारी ठगीको निहुँ बनाएर पक्राउ पुर्जी जारी गर्न लागिएकोबारे दलहरू गम्भीर रहेको बताए । उनले भने, ‘पक्राउ पुर्जीको कुरा अदालतलगायत विभिन्न निकायले के भनेका छन्, त्यसमा भर पर्ने कुरा हो । गल्ती गरेको हो भने अनुसन्धान हुनुपर्छ । तर, गल्ती नगरिकन गरेकै हो भन्ने खालको गतिविधि गरेर समस्या सिर्जना गरियो भने राम्रो हुँदैन ।’

माओवादी नेता शक्ति बस्नेतले पनि कानूनी प्रक्रियाबाट अघि बढ्न कसैले अवरोध नगर्ने बताए । तर, राजनीतिक आग्रह(पूर्वाग्रका संकेत देखिनु हुँदैन भन्नेमा सचेत रहेको उनको भनाइ छ ।

‘यसलाई हामीले गम्भीरतापूर्वक उठाइरहेका छौं । हिजो अध्यक्षले प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष पनि राख्नुभएको थियो,’ उनले भने ।