लेबनानमाथि इजरायली आक्रमणको विरोध गर्दै माइतीघरमा प्रदर्शन

लेबनानमाथि इजरायली आक्रमणको विरोध गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ । प्यालेस्टाइन र लेबनानमाथि इजरायलले गरेको आक्रमणको विरोध गर्दै अनेरास्ववियु क्रान्तिकारीले प्रदर्शन गरेको छ ।

बिहीबार काठमाडौंको माइतीघरमा अनेरास्ववियु क्रान्तिकारी क्याम्पस जिल्ला समितिले प्यालेस्टिनी र लेबनानी सर्वसाधारणमाथिको आक्रमण रोक्नुपर्ने भन्दै विरोध प्रदर्शन गरेको हो । सबै नागरिकको मानवअधिकारको सम्मान हुनुपर्ने संगठनले जनाएको छ ।

विरोध प्रदर्शनका क्रममा अनेरास्ववियु क्रान्तिकारीका पूर्वउपाध्यक्ष केशव रावलले लेबनान र प्यालेस्टाइनका जनताप्रति इजरायलले बर्बरतापूर्ण आक्रमण गरेको भन्दै निन्दा गरे । उनले युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउनका लागि सरकार गम्भीर हुनुपर्ने उल्लेख गरे ।

उनले अनेरास्ववियु क्रान्तिकारी सबै प्रकारको दमनको विरोधमा रहेको स्पष्ट पारे । संगठनले विपिन जोशीको रिहाइका लागि गम्भीरतापूर्वक पहल गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।