धुलिखेल। सुख्खा पहिरोबाट अवरुद्ध भएको बिपी राजमार्ग एकतर्फी खुलेको छ। काभ्रेपलान्चोकको रोशी गाउँपालिका–११ पिप्लेमा खसेको पहिरो पन्छाएर सडक सुचारु गरेको डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए।
पहिरोमा परि खोटाङबाट काठमाडौं आउँदै गरेको ना १ ज ६८१७ नम्बरको सुमो पुरिएको थियो भने सिन्धुली खुरकोटबाट काठमाडौं आउँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसलाई पनि धकेली २० मिटर तल पुर्याएको थियो।
असोज ११ र १२ गतेको अबिरल वर्षापछि रोशी खोलामा आएको बाढीले उक्त राजमार्गका विभिन्न खण्ड बगाएर अवरुद्ध भएको थियो। सडक विभाग र रोशी गाउँपालिकाको सक्रियतामा बिहीबार राति उक्त सडकमा ‘ट्र्याक’ जोडिएपछि सवारी साधन सञ्चालन भएका थिए।