बाढीपहिरोमा मृत्यु हुनेको संख्या १९३ पुग्यो, ३१ जना अझै बेपत्ता

बाढीपहिरोमा मृत्यु हुनेको संख्या १९३ पुग्यो, ३१ जना अझै बेपत्ता

काठमाडौं । मनसुन बाहिरिने समय नजिक रहँदा गएको बिहीबार रातिदेखि शनिबारसम्मको अविरल वर्षासँगै बाढीपहिरो र डुबानका घटनाबाट हालसम्म १९३ जनाको मृत्यु भएको छ ।

यो अवधिमा प्राकृतिक विपद्का घटनामा परी ३१ जना बेपत्ता छन् । ९६ जना घाइते भएका प्रहरीले जनाएको छ । सोमबार बिहान साढे ९ बजेसम्मको विवरणानुसार, तीन हजार ७०५ भन्दा बढी मानिसको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

विपद्मा परी सबैभन्दा बढी काभ्रेपलान्चोकमा ५० जनाले ज्यान गुमाएका छन्। अझै १० जना बेपत्ता रहेका छन्।  धादिङमा ३९ जनाले ज्यान गुमाएका छन्। ललितपुरमा ३३, काठमाडौंमा १७, सिन्धुपाल्चोकमा १०,  मकवानपुर र दोलखामा ७-७ जनाको मृत्यु भएको छ।

भक्तपुर, पाँचथर र सोलुखुम्बुमा ५-५, झापा, धनकुटा, महोत्तरी, सिन्धुली र रौतहटमा २र२ तथा सप्तरी, उदयपुर, रामेछाप र इलाममा १र१ जनाको मृत्यु भएको छ।

पहिरोमा परी  प्रमुख सेनानी कर्णेल मिलन केसीको पनि ज्यान गएको छ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेंसी–९, झ्याप्ले खोला खण्डमा मात्र पहिरोले बस र माइक्रोबस पुर्दा ३५ जनाको मृत्यु भएको छ। घाइते भएका ९६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

बाढीपहिरो र डुबान कारण विभिन्न जिल्लामा रहेका १४ वटा पक्की र झोलुंगे पुल बगेका छन्। ३ हजार २ सय ९९ घर र १८ गोठ क्षतिग्रस्त भएका छन्। बाढीपहिरोमा २ सय ७२ वटा पशु,चौपाया मरेका छन्।

काठमाडौं उपत्यकामा मात्र बाढीपहिरोले ३ सय २२ घरमा क्षति पुगेको छ। २९ वटा प्रहरी कार्यालय, ६ वटा अन्य सरकारी कार्यालय र विभिन्न राजमार्ग ७५ स्थानमा भत्किएको गृहको तथ्यांक छ।

शनिबार अपराह्नपछि अविरल वर्षा रोकिएको छ । वर्षासँगै बाढीपहिरोले सडक, पुल, सार्वजनिक सम्पत्ति, व्यक्तिका निजी घर तथा आवासलगायत भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको छ ।