काठमाडौं। पछिल्लो १२ घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखको विवरणमा संघीय राजधानी काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा भारी वर्षा मापन गरिएको छ।
महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा भएको उनले बताइन्।
विगत १२ घण्टामा कोशी प्रदेशको झापा, इलामलगायत क्षेत्रमा अति भारी वर्षा भएको छ। झापाको अनारमणीमा दुई सय तीन मिलिमिटर र चन्द्रगढी विमानस्थलमा दुईसय ६० मिलिमिटर र इलाममा दुई सय ४३ मिलिमिटर वर्षा मापन गरिएको मौसमविद् महर्जनले जानकारी दिइन्।
प
छिल्लो एक घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशमा तुलनात्मक रुपमा कम वर्षा भएको छ। काठमाडौंका थोरै स्थानमा भारी वर्षा भएको छ। कीर्तिपुरमा ८४ मिलिमिटर र बूढानीलकण्ठमा ६५ मिलिमिटर, काठमाडौंका अन्य क्षेत्रमा ६० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको महाशाखाले जनाएको छ।
ललितपुरको लेलेमा एक सय १५ दशमलव पाँच र गोदावरीमा ९३ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको छ। अहिले सबै प्रदेशमा निरन्तर वर्षा भइरहेको भन्दै भोलि पनि दिनभर वर्षा हुने सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिइन्।
आइतबार मध्यान्हपछि मौसममा केही सुधार आउँदै जाने महाशाखाले जनाएको छ। निरन्तरको वर्षासँगै उपत्यकालगायत मुलुकका अधिकांश नदीनालामा जलसतह बढेको छ। काठमाडौंको बागमती, विष्णुमती, धोबीखोला, ललिपुरको कर्मानासा, भक्तपुरको हनुमन्ते खोलामा जलसतह उच्च रहेको छ। वर्षाले काठमाडौंसहित मुलुकभरको जनजीवन सामान्य प्रभावित भएको छ।
जल तथा मौसम विज्ञान विभागले मोबाइलमार्फत सूचना पठाएर आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। काठमाडौं उपत्यकास्थित बागमती नदी, खोकना, मनोहरा, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोङ्गबु बसपार्क जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा भएकाले नदी तटीय क्षेत्रमा यात्रा गर्ने र बस्नेले उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि नेपालमा रहेको महाशाखाले जनाएको छ।