चट्याङ लागेर चार जनाको मृत्यु

चट्याङ लागेर चार जनाको मृत्यु

काठमाडौँ । रोल्पासहित देशका विभिन्न स्थानमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका५ हाङजावाङ बस्ने ४२ वर्षीया चन्द्रकली वलीको चट्याङ लागेर मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो । 

यता मोरङको मिक्लाजुङ गाउँपालिका-३ तेह्थुमे टोलस्थित घर निर्माणको लागि आएका झापा दमक नगरपालिका-४ बस्ने ३६ वर्षीय कुमार मोतेको चट्याङ लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते भएका उनको दमक अस्पताल दमक झापामा उपचारको क्रममा मृत्यु भएको हो । 

यसैगरी बाजुराको बुढिगंगा नगरपालिका-४ बानेगाउँ बस्ने ६० वर्षीय खम्ब कटुवालको चट्याङ लागेर गए राति घटनास्थलमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

यता दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको ढुङ्गा माटोले बनेको घरमा मङ्गलबार चट्याङ परेको थियो।

चट्याङ परी घाइते भएका निमकलीका तीन वर्षीय छोरा समिर साहुको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए।