दसैँको अग्रिम टिकट बुकिङ असोज १२ देखि खुल्ने, अनलाइनबाट पनि काट्न मिल्ने

दसैँको अग्रिम टिकट बुकिङ असोज १२ देखि खुल्ने, अनलाइनबाट पनि काट्न मिल्ने

काठमाडौं । यातायात व्यवसायीहरूले दसैँमा घर फर्किने यात्रुको चापलाई लिएर अग्रिम टिकट बुकिङ खुलाउने भएका छन् ।

सोमबार यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र यातायात व्यवसायीको संयुक्त बैठकले असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।यातायात व्यवस्था विभागका निर्देशक एवं सूचना अधिकारी इश्वरीदत्त पनेरुले शनिबारदेखि अग्रिम टिकट बुकिङ खुल्ने बताए । काठमाडौं उपत्यकाबाट दसैँका लागि घर फर्किने यात्रुले अग्रिम टिकट काट्न सक्छन् । 

बैठकले अनलाइन प्लेटफर्ममार्फत अग्रिम टिकट काट्ने व्यवस्था व्यवसायीहरूले गर्नुपर्ने निर्णय गरेको छ । दसैँको बेला उच्च चापले बसपार्कबाटै टिकट काट्न कठिनाइ हुने भएकाले अनलाइन प्लेटफर्महरूबाट पनि टिकट काट्न सकिने गरी व्यवस्था गरिएको जनाइएको छ । यस्तै, असोज १७ देखि कात्तिक १ गतेसम्म नारायणघाटदेखि काठमाडौंसम्म अत्यावश्यक ढुवानी गर्ने बाहेकका ट्रेलरलगायत ठूला सवारी साधनलाई निषेध गरिएको छ ।

यात्रुको अत्यधिक भीड हुने ठाउँमा सहायता कक्ष सञ्चालन गर्नुपर्ने निर्णय समेत बैठकले गरेको छ । अनधिकृत काउन्टर, परिचय पत्र, पोसाक नभएका व्यक्तिबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्ण रूपमा नियन्त्रणमा लिइने संयुक्त बैठकको निर्णय छ ।