काठमाडौं उपत्यका ठप्प बनाएर सरकारलाई घुँडा टेकाएर मात्रै विश्राम लिन्छौँ : राप्रपा

काठमाडौं उपत्यका ठप्प बनाएर सरकारलाई घुँडा टेकाएर मात्रै विश्राम लिन्छौँ : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशम्शेर राणाले देशभर जनता आन्दोलनको मुडमा पुगिसकेको दाबी गरेका छन्।

आन्दोलनको भावी रणनीतिबारे कार्यकर्तालाई प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकामा समेत प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले बोल्ने सक्ने अवस्था नभएको बताए। एक्ला एक्लै आन्दोलन गरेर सफल नहुने भन्दै विचार मिल्ने शक्तिहरूलाई एकताबद्ध भएर होमिन आह्वान गरे। 

उनले भने, ‘देशमा परिवर्तन चाहने, सनातन हिन्दु राज्य चाहने, संवैधानिक राजसंस्था चाहने र देशमा भ्रष्टाचारीहरूलाई जेलमा हाल्नेहरू एकजुट भएर आन्दोलन गर्नुपर्छ। हामीले अलग्गै अलग्गै आन्दोलन गरेर गाह्रो हुन्छ।’उनले समान विचारधारा भएकाहरूलाई समेट्ने प्रयास गर्दा पनि असफल भएको बताए। उनले मंसिरबाट आफूहरू आन्दोलनको सुरुआत गर्ने भएकाले विचार मिल्नेहरूलाई एकजुट हुन आह्वान गरे।

उनले भने, ‘यो आन्दोलन एक दिनको हुँदैन। सबै व्यवस्था गर्छौँ सातदेखि दश दिनसम्म काठमाडौं उपत्यका ठप्प बनाएर नालायक सरकारलाई घुँडा टेकाएर मात्रै विश्राम लिन्छ।’ यस्तै, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पनि आन्दोलनबाट वारपार गर्न नसके आफूहरूले बोकेको एजेन्डा स्थापित नहुने बताए।

उनले भने, ‘हामीलाई कसैले किस्तीमा ल्याएर दिनेवाला छैन। त्यसैले हामीले आन्दोलनबाट व्यापक दबाब दिनुपर्छ। सडकमै उत्रिएर दबाब दिनुपर्छ। अर्कोतिर वैचारिक रूपमा पनि वकालत गर्नुपर्छ।’ उनले कांग्रेस, एमाले र माओवादीमा पनि संवैधानिक राजसंस्थाको पक्षमा माहौल बढ्दै गएको भन्दै दलहरूसँग संवाद पनि जारी राख्नुपर्ने बताए।